विर्तामोड/ गैरसरकारी संस्था महासंघ झापाले सामाजिक संस्थाहरुको कार्यमूलक वातावरण निर्माण सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको विर्तामोड चारपानेमा आइतबार आयोजना गरेको सो छलफल कार्यक्रममा वक्ताहरुले विद्यमान समयमा गैसस संचालनमा देखापरेका समस्या, सरकारको नीति र व्यवहार तथा चुनौतीका बारेमा चर्चा गरेका थिए । छलफलबाट गैसस संचालन तथा विद्यमान समस्या समाधानका लागि कानुनीदेखि दाताहरुको उपलब्धता र सहयोग पाउने कुराका साथै केन्द्रदेखि स्थानीय सरकारसम्मको सहयोग लिनका लागि आवश्यक पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रमुख अतिथिका रुपमा रहेका गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुवेदीले महासंघले गैसस स्थापना र संचालनका सवालदेखि तथा सरकारसँगको उचित समन्वयका लागि विभिन्न समयमा लविङ र सकारात्मक दबाब दिने काम गर्दै आएको तर सत्तामा हुने फेरबदलका कारण भनेजस्तो परिणाम निस्कने भने नसकेको जानकारी गराए । अध्यक्ष सुवेदीले महासंघमा आवद्ध सामाजिक संस्थाहरुलाई कसरी चलायमान र मजबूत बनाउन सकिन्छ भनेर देशव्यापी रुपमा छलफल अन्तरक्रिया लगायतका कार्य गरिरहेको पनि प्रकाश पारे । जिल्लामा रहेका सामाजिक संस्थाहरुले कतिपयले राम्रैगरी स्थानीय स्रोतबाट सहयोग लिएर काम गरेको भएपनि धेरैजसो संस्थाहरु सक्रियता देखाउन नसकेर या स्थानीय सहयोग र स्रोत प्राप्त गर्न नसकेर खुम्चिएको अवस्थामा रहेको विद्यमान अवस्थामा सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।
विशेष अतिथि गैसस महासंघका केन्द्रीय महासचिव अर्जुन भट्टराईले स्थानीय तहका सरकारहरु संघीयता आएपछि आर्थिक रुपमा बलियो रहेपनि सामाजिक विकासका काममा योजना बनाउँदा सामाजिक संस्थाहरुलाई सहभागी गराउने कुरामा पछि परेको बताए । देशभरका पालिकाहरुमा बजेट र योजना तर्जुमा गर्दा सामाजिक संस्थाहरुलाई पनि सहभागी गराउने गरी पालिका स्तरमा समन्वय समिति बनाउनुपर्छ भनेर महासंघले भनिरहेको उनले प्रष्ट पारे । गैसस संचालनमा रहेको साह्रो गाह्रो र अप्ठ्यारोलाई चिर्दै अघि बढ्ने कुरामा महासंघ सचेत रहेको तर यो अभियानमा सरोकारवालाहरु सबै एकभएर अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाई थियो । गैसस महासंघका उपमहासचिव उमेश विश्वकर्मा र केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज छविलाल खतिवडाले लोकतन्त्र प्राप्तीपछि अब सामाजिक संस्थाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक सबलताका लागि काम गर्नुपर्ने र त्यसका लागि स्वयं सक्रिय भएर लागीपरे सफलता प्राप्त हुने अपेक्षा गर्न सकिने बताए ।
युरोपियन युनियनको सहयोगमा चारपानेस्थित सहारा नेपाल साकोसको सभाहलमा भएको कार्यक्रममा अध्यक्षता गैसस महासंघ झापाका अध्यक्ष कृष्ण दंगाल, स्वागत उपाध्यक्ष ओमप्रसाद गौतम र कार्यक्रम संचालन सचिव विजय तिम्सिनाले गरेका थिए । गैसस महासंघ झापाका पूर्वअध्यक्ष रुद्र प्रसाद सिटौलाले महासंघले पनि आफ्नो सक्रियतालाई अझै बढाउनुपर्ने भनी सुझाव दिएका थिए । कार्यक्रममा सहभागी जिल्लाका विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुले स्रोत परिचालन र गैसस संचालनका लागि देखिएका समस्या तथा चुनौतीहरुका बारेमा केन्द्रीय अध्यक्ष लगायतलाई जानकारी गराएका थिए ।
