कमल/ झापाको कमल-५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औं वार्षिक साधारण सभाका सन्दर्भमा उत्पन्न विवाद सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरी समाधान गरिने भएको छ । भदौ ६ गते विहीबार बोलाइएको साधारण सभाको उद्घाटनका क्रममा वितरित संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख केही कुरालाई लिएर विवाद उत्पन्न भएको थियो । विवाद पछि शुक्रबार समितिले पत्रकार सम्मेलन गरेर आफ्नो यथार्थ धारणा सार्वजनिक गरेको छ ।
खानेपानीकी अध्यक्ष उषा भण्डारीले प्रतिवेदनको पृष्ठ ८ मा कमल-५ का निवर्तमान वडाध्यक्षले सहयोग नगरेको भन्ने वाक्यांश कार्यसमितिको सहमति र निणर्यबाटै राखिएको तर अहिले आएर विवाद झिकिएको गुनासो गर्नुभयो । पत्रकार सम्मेलनमा खानेपानीका संचालक समिति सदस्य कमल-४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराई, चन्द्रकला भण्डारी र सृजना ढकाल दाहालले भने प्रतिवेदनमा राखिएको सो कुरा प्रति आपत्ति जनाएका छन् । विहीबारको साधारण सभामा पनि नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट आगामी निर्वाचनका लागि अध्यक्षको उम्मेदवार घोषणा गरिएका कमल-५ का पूर्व वडाध्यक्ष डम्बर बहादुर निरौला पक्षका केही युवाहरुले कार्यक्रम शुरु हुनासाथ माइक्रोफोन खोसेपछि विवाद उत्पन्न भएको थियो । केही समय साधारण सभाका सहभागीहरुबीच होहल्ला समेत भएको थियो ।
तर अब खानेपानीको आसन्न निर्वाचनलाई ध्यानमा राखेर उत्पन्न विवादको समाधान गर्ने, त्यसका लागि सर्वदलीय बैठक बोलाउने र सहमतिका साथ अघि बढ्ने आफूहरुको मकसद रहेको वर्तमान उपाध्यक्ष राजेन्द्र संग्रौला, सचिव विष्णुप्रसाद पौडेल, सदस्यद्वय प्रमोदकुमार दाहाल र सन्तकुमार कार्कीले बताएका छन् । अध्यक्ष भण्डारीले भने साधारण सभाको बहुमतले प्रतिवेदनमा विवादमा परेको वाक्यांश सच्याउनु भनेर भनेदेखि आफूहरु तयार रहेको पनि बताउनुभयो । तर लेखा सदस्य भिमराज राईले लोकतन्त्रमा यथार्थ कुरा लेख्न र बोल्न पाउनु्पर्ने नागरिकको अधिकार भएकाले कसैले आलोचना गर्दैमा सत्य तथ्य नबदलिने प्रतिक्रिया दिए । पत्रकार सम्मेलनमा खानेपानीको कोषाध्यक्ष उत्तम राई र लेखा संयोजक धर्मानन्द भट्टराईको पनि सक्रिय सहभागिता रहेको थियो । विवाद समाधानका लागि आज शनिबार बिहान खानेपानीको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको जानकारीमा आएको छ । लखनपुर खानेपानी गत आ.व. मा झापा जिल्लाकै उत्कृष्ट खानेपानी उपभोक्ता संस्थाका रुपमा पुरस्कृत एवं सम्मानित भएको थियो ।
तर अहिले नयाँ नेतृत्व चयन गर्ने बेला आएकाले आज शनिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि छुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न लागेका छन् । खानेपानीको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
समाचार
लखनपुर खानेपानीको विवाद सर्वदलीय बैठकबाट समाधान गरिने
- by ज्येष्ठ आवाज
- August 23, 2024
- 0 Comments
- 267 Views
- 6 months ago
