कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघमा हाल १० वटा संस्था संस्थागत सदस्य र २९ जना आजीवन सदस्यहरु रहेका छन् । महासंघको विधानअनुसार ४ प्रकारका सदस्यहरुको परिकल्पना गरिएको छ, जसमा संस्थागत, विशिष्ट, साधारण र सहयोगी सदस्य रहेको छ । विशिष्ट र साधारण सदस्यलाई आजीवन सदस्यका रुपमा विधानमा व्यवस्था गरिएको छ । महासंघको संस्थापक अध्यक्ष भवानी प्रसाद दाहाल स्वर्गीय भइसक्नुभएको छ । हालको अध्यक्ष मणिकुमार अज्र्याल विराटनगर मोरङ रहनुभएको छ भने उपाध्यक्षमा क्रमशः जगदीश प्रसाद ओली (इटहरी सुनसरी) र भागिरथा चापागाई (कनकाई झापा), महासचिवमा यज्ञश्वर निरौला (विराटनगर मोरङ), सचिवमा जयप्रसाद संग्रौला (दमक झापा) र कोषाध्यक्षमा जया राई (धनकुटा) ले काम गरिरहनुभएको छ । महासंघको कार्यसमितिमा विधान बमोजिमको संख्यामा सदस्यहरु रहनुभएको छ । महासंघले वार्षिक रुपमा साधारण सभा, नियमित बैठक, ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्नुका साथै जिल्ला संघ, विभिन्न आवद्ध सामाजिक संघ संस्था र सरोकारवालाहरुका विषय मिल्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।
प्रत्येक वर्ष १ अक्टोवरमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २७ सेप्टेम्वरमा विश्व अल्जाईमर्स दिवस, १५ जुनमा ज्येष्ठ नागरिकहरुमाथि हुने दुव्र्यवहार विरुद्धको अन्तर्राष्ट्रिय दिवस तथा ११ पुषमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग मिलेर मनाउँदै आएको छ । यी दिनहरुमा प्रदेशभरिका पालिका सरकारहरुले समेत विभिन्न कार्यक्रम गर्दै आएको पाइन्छ । यसका साथै अन्तरपुस्ता सीप हस्तान्तरण, अल्जाईमर्सबारे, ज्येष्ठ नागरिक व्यवस्थापन तथा स्याहारकर्ता तालिम समेत संचालन गरिँदै आएको छ । यस्ता कार्यका लागि प्रदेश र स्थानीय तहका सरकारहरुको सहयोग र सहकार्य रहँदै आएको छ । तर भौगोलिक दूरी, विकटता र आर्थिक स्रोतको अभावका कारण प्रदेशका सबै जिल्लामा समानुपातिक ढंगबाट काम हुन सकेको छैन । महासंघले ज्येष्ठ नागरिकको हक, हित र अधिकार एवं कल्याणका सवालमा संघ, प्रदेश र स्थानीय सरकारहरुसँग विभिन्न समयमा मागहरु पेश गर्दै आएको छ । कतिपय मागहरु पूरा पनि भएका छन् भने धेरै मागहरु पूरा हुन बाँकीनै रहेका छन् ।
महासंघको आफ्नै भवन नभएको अवस्थामा नेपाल ग्रामीण विकास समाज सेवा केन्द्र विराटनगरको भवनबाटनै काम हुँदै आएको छ । अहिले आएर प्रदेश महासंघ र जिल्ला संघको भवन निर्माणका लागि ज्येष्ठ नागरिक विराटनगर महानगर समितिका अध्यक्ष, ज्येष्ठ नागरिक अभियन्ता, सामाजिक एवं धार्मिक व्यक्तित्व विराटनगर महानगरपालिका–५ निवासी सुरेश कुमार श्रेष्ठले सोही ठाउँमा ६० लाख पर्ने १७ धुर घडेरी जग्गा दान गर्ने घोषणा गर्नुभएको छ । सोही जग्गामा भवन निर्माण गरी प्रदेश महासंघ र जिल्ला संघ मोरङको गतिविधि संचालन गर्ने योजना रहेको छ । ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी हुन् । उनीहरुको सम्मानित, मर्यादित र सुखमय जीवनयापनको आधार तयार गर्ने कार्यका लागि सरकार, गैरसरकारी सामाजिक संघ संस्था र सरोकारवालाहरुबीचको समन्वय र सहकार्य आजको आवश्यकता हो । ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान ।
(लेखक कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघको सचिव हुनुहुन्छ ।)