विश्व जगतको सृष्टि, स्थिति र विलयको सञ्चालन गर्ने अपूर्व शक्ति जहाँ असंख्य घटनाहरु स्वचालित भइरहेका हुन्छन् त्यसैलाई हामीले प्रकृति भनेर बुझ्दै आएका छौं । मानिस पनि प्रकृतिको एउटा अंश भएकोले मानिसको नियन्त्रणमा प्रकृति कहिल्यै हुँदैन । प्रकृतिले उसलाई शक्तिशाली विवेक र चेतनाको शक्ति दिएको छ जसबाट प्रकृतिको सुरक्षा गरोस् र आफूले पनि प्रकृतिबाट मजा लिन सकोस् । त्यसैले त प्रकृतिमा अपार आनन्द र मनमोहन प्राप्त हुने वस्तुहरु संगृहित छन् । हावा, पानी, वनजङ्गल, जीवजन्तु, माटो, ढुङ्गा, असंख्य खनिज जस्ता वस्तुहरु मानिसले देख्न, भोग्न, अनुभूत गर्न आदि आदि अनेकसँग निहीत छ । प्रकृतिसँगको व्यवहारगत सम्बन्ध कस्तो बनाउने भन्ने सोच चिन्तनमा मानिस आफैँ होसी हुनु पर्दछ ।
प्रकृति सुन्दर र मनोरम हुँदैहँुदै पनि मानिसको सामाजिक व्यवस्थाको ढङ्गले प्रकृतिको मौलिक रुपलाई नकरात्मक प्रभाव गर्दै ल्याएको छ । देशको व्यवहारगत व्यवस्था र नीतिको चुरो राजनीति हो । मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र कुटनीतिक क्षेत्रलाई कुशलतापूर्वक डोहो¥याउन सक्ने नीति नै असल नीति हुन्छ । राजनीति कलाकारिताको व्यापक ठूलो क्षेत्र हो । राजनीति गर्ने व्यक्तिहरु असल नियतका भए भने मुलुकले कुनै प्रकोपहरुको सामना गर्नुनै पर्दैन । असल कालीगढले झुक्किएर मात्रै ज्यादै थोरै कमसल वस्तु निर्माण गर्दछ । असल राजनीति गर्नेहरुले मात्र शक्तिसम्पन्न राष्ट्र बनाउन सक्दछन् । विपरीत राजनीति गर्नेहरु सेवाको नाममा छुल्याहा, हेपाहा र मुल्याहा कर्म गर्न पुग्दछन् । जसले मुलुकमा दुर्गति मात्र खन्याइ रहन्छ । प्रकृति गतिशील हुन्छ । प्राकृतिक परिवर्तनहरुमा अनपेक्षित घटनाहरु घटिरहन्छन् । शिल्पकारी गुण भएका व्यक्तिहरुले राजनीतिलाई सञ्चालन गर्दा मात्र अनपेक्षित घटनाहरुसँग सामना गर्न सक्दछन् ।
हठबुद्धिको मुङ्ग्रेबलले क्षणभरमा शक्ति कमाएर राजनीति गर्ने सत्ता लोभी नेपाली परम्पराले प्राकृतिक विपत्ती त के एउटा समूहले सिर्जना गरेको अस्तव्यस्तबाटै हायलकायल हुन पुग्दछ । आफ्नो अस्तित्व निर्माण गर्न मावनविरोधी साजीस गर्न कुनै लाजघिनको पर्वाह नगर्नेहरुले मानव निर्मित प्रकोप मात्र थुपार्न पुग्दछन् । हृदयहीन झुण्डहरुको राजनीतिक साजीसबाट नेपाली हुर्मत छन् । खडेरी लाग्छ पीडित नागरिकहरुलाई सुकाउँछ । बाढी आउँछ तिनै नागरिकहरुलाई बगाउँछ । पहिरो आउँछ । तिनै नागरिकहरुलाई उखेलेर लैजान्छ । नयाँ नयाँ महामारीहरुहरुले तिनै नागरिकहरुलाई बीचबाट चुँडेर लैजान्छ । कस्तो हृदयबिदारक पीडाको प्रकोप, तिनै नागरिकहरुले राज्यको सबल नेतृत्वबाट विपत्तीहरुको रोकथाम हुन्छ भनेर आफ्नो मत दिएर राजनीतिक नेतृत्वहरु छानेका हुन्छन् । तर छानिनु अघि भिजेको बिरालो जस्तो हुने राजनीतिक कार्यकर्ताहरु छानिएर सत्तामा पुग्न साथ हिंस्रक ब्वाँसो जस्तो हुन पुग्छन् ।
विगतदेखि नै अवाञ्छित राजनीतिक घटनाक्रमको जालमा मुलुकलाई फँसाइयो । सत्ताकोे नाममा देशले त दुःख पायो प्रकृति समेत क्षतविक्षत हुन पुग्यो । वनजङ्गल सखाप, उर्वर जमिनको शक्ति सखाप, नदीनाला, खोलाखोल्सी, पोखरी, तालतलैयामाथि ठाडो हस्तक्षेप गरी तिनीहरु हिंड्ने, बग्ने, रमाउने बसै परिस्थिति सखाप पारियो । सत्ता चलाउने राजा, नेता, कर्मचारी र तिनीहरुद्वारा निर्देशित कार्यकर्ता तथा तलतलका ठिनेमिने मिलेर प्रकृतिको दोहन गर्नु सम्म गरे । आफू सत्ता बाहिर हुँदा जताततै अभावै अभाव, भ्रष्टाचारै भ्रष्टाचार र सबैलाई जाली नै जाली देख्ने दृष्टिदोष भएको राजनीतिक संस्कार नेपालीहरुले भोग्नु पर्ने परम्परा स्थापित हुँदै आयो । अपराधको सहाराले सत्ता प्राप्त गरी अमनचयनको सपना देखाउने कुप्रवृत्ति नेपालको राजनीतिक प्रकोप बन्यो । यस प्रकोपले प्राकृतिक प्रकोपलाई मलजल गरेको छ । राम्रो काम गर्न खोज्नेहरुलाई प्रजातन्त्रको कोकोहोलोद्वारा विरोधैविरोधको सामना गर्नुपर्ने परम्परा बसाउँदै ल्याए । बाहिर प्रजातन्त्र भित्र कुट चिन्तनले प्रजातन्त्रलाई अपाङ्ग बनाउने काम गरियो । त्यही प्रवृत्तिले विगतमानै नेपाली प्रकृतिको बनावट भताभुङ्ग पारेको छ ।
वर्षा लाग्छ बाढी र पहिरोले बाटोघाटा पुलपुलुसाहरु बगाउन शुरु गर्न थाल्छ । गाउँ र बस्तीहरुमा जनजीवनमा त्रास र भय शुरु हुन्छ । त्यो भन्दा अगाडि नै प्रकोप नियन्त्रणका लागी भरपर्दो कर्म नहुनाले नागरिकहरु सशंकित रहिरहनु पर्ने निरन्तरता स्थापित हुँदै आयो । जब बाढी, पहिरो, झाडापखला र कोभिड जस्ता विपत्तीहरुले खप्लक्क खान थाल्दछ अनि ताउरमाउर गरेर राहत वितरण गर्ने त्यसमा पनि भ्रष्टाचार गर्ने राष्ट्रिय दुर्जनहरुको प्रकोपले पीडितहरुलाई राहत होइन आहत मात्र थप्ने गरेको विगतका नमूनाहरु छन् । पञ्चायत र बहुदलीय कालमा जस्तो लहना थियो गणतन्त्र शासन कालमा पनि उहि भोगाइमा नेपाली जनता । प्रकृतिले सिर्जना गर्ने विपत्ती स्वाभाविक हो । जो विवेक र सावधानीलाई सभ्यताको मुल ठान्ने एकमात्र प्राणी मानिसले नै प्रकोपहरु, विपत्तीहरु र अनिष्टहरु सिर्जना गर्नु अस्वाभाविक हो । शान्ति र प्रगतिको धनेश बन्नु पर्नेमा तुच्छ सत्ता स्वार्थको लालचमा हत्या, हिंसा, लुटपाट, भ्रष्टाचार आदि कुकर्म गरेर जीवन जिउनु वा सत्ता चलाउनुले हामी सभ्यताको श्रृङ्खलामा छौं भन्ने सूचक दर्शाउन सक्दैन । कमजोर मानिसहरुले गल्ती गर्दा “गतिछाडा” भयो भनी प्याच्च भन्ने तर तुच्छ स्वार्थ पूरा गर्न राजनीतिको रंग दिएर कुकर्म गर्नेलाई चाहिं के भन्ने ? हुतिहाराहरुले मात्र गलत बाटो लिन पुग्छन् । जसले अमनचयन दिन होइन अशान्ति र अनिष्ट मात्र जन्माउन उद्दत हुन्छन् तिनै मानव निर्मित प्रकोपका जन्मदाता हुन् ।
प्रकृतिलाई समेत आफ्नो वशमा पारेर आफ्नो देशका नागरिकहरुलाई अपनचयन र समृद्धि दिन सफल राजनीतिक नेतृत्व भएका विकसित राष्ट्रहरुको उदाहरण समेत देख्न नसक्ने सुरदासहरु जन्मेको देश नेपाल भएको छ । पीडित नागरिकहरुको उद्धारका लागि विदेशीहरुले पठाइदिएको सहयोग समेत भ्रष्टाचार भयो अनि ति सहयोग गर्ने राष्ट्रहरुले सहयोग राशी समेत रोक्न बाध्य हुने परिस्थिति विगतमा बन्न पुगेका घटनाहरु छन् । सत्ताबाहिर हुँदा हाम्रा सुरदासहरु जनताहरुलाई भविष्यको ललिपप देखाउँदै भन्ने गर्दछन् “हामी सत्तामा पुग्ने बित्तिकै स्वीजरल्याण्ड बनाइ दिन्छौं, युरोपको मापदण्डमा पु¥याइ दिन्छौं आदि आदि”। तर सत्ता प्राप्ती गरेर विकसित मुलुकहरुको भ्रमण गर्छन् यहाँ आएर फेरी उही ङ्यारङुर एकापसमा कुकुर बिरालो झगडामा राष्ट्रको ढिकुटी रित्याउँछन् राष्ट्रिय समय बर्वाद बनाउन पुग्छन् । के यस्तो प्रवृत्तिले मुलुकमा अग्रगामी राजनीतिक चेतनाको विकास गराउँछ ? राजनीतिक आन्दोलन मुठ्ठीभरहरुको भोगविलास गर्ने माध्यम बन्नु नेपालको दुर्भाग्य हो ।
त्यसै त हाम्रो मुलुक प्राकृतिक विपत्तीहरुले धेरै सताइने भूगोलभित्र पर्दछ । यस्तै विशेषता भएका कयौं मुलुकहरुले आफूलाई व्यवस्थित गरिसकेका छन् । हाम्रो देशलाई व्यवस्थित गर्न नदिने छौंडा स्वभावको राजनीतिक प्रवृत्ति हावी भएकै कारणले नेपाल प्राकृतिक जोखिमले पीडित छ । विपद् पीडितहरु समेत सत्ता सञ्चालनको ठाउँमा पुग्दा पनि प्रकृतिले राहत पाउन सकेको छैन । अहिलेको सत्ता सञ्चालनको अवस्थाले प्राकृतिक प्रकोपलाई वशमा ल्याउन सक्ने राजनीतिक हैसियत राख्दछ । तर नियत ठीक छैन । प्रशासनिक यन्त्रको उच्चा तहमै ठूला समस्या रहेको देखिन्छ । एउटा सामान्य व्यक्ति मन्त्रीको पिए बनेको एकाध वर्षभित्रै ठुल्ठूला बिल्डिङ्ग, विलासी गाडी तथा सुनाचाँदीको मालिक बनेको घटना हामीले देखेका छौं यो कसरी हुन्छ नागरिकहरुले नाक खुम्चयाएर टुलुटुलु हेर्नु सिवाय के पो छ र । सामान्य पिएको त ठिक छैन भने संवैधानिक कानुनी हैसियत बनाएर बसेको नेता तथा कर्मचारीको नियत झन कस्तो होला नागरिकले राम्ररी बुझेका छन् ।
नियत ठीक बनाउन सके छोटो समयमा सबै समस्याहरु निराकरण गर्न सकिन्छ । धूर्त नियतले राजनीतिलाई सञ्चालन गर्नु हुँदैन । “मुलुक सम्पन्न र शक्तिशाली हुँदा आफू स्वतः सम्पन्न र शक्तिशाली हुन सकिन्छ” भन्ने सत्यलाई भुल्नु हुँदैन । प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्न राजनीतिक दृढ इच्छाशक्तिले मात्र सक्दछ । सम्पूर्ण नागरिकहरुलाई राष्ट्रिय एकतामा एकबद्ध बनाउन पनि राजनीतिक इच्छाशक्ति नै चाहिन्छ । राजनीतिक इच्छाशक्ति निर्माण गर्न हाम्रा राजनीतिक दलहरु र देशको दैनिक प्रशासन चलाएर विकासको अभियान सञ्चालन गर्ने कर्मचारीहरु सफल बन्नु पर्दछ । कहिलेसम्म हामी अनेकौं प्रकोपको कोपभाजनमा परिरहने ?
प्रकृतिको नियतिलाई मानिसले बुझेर सावधानी लिनु पर्दछ । त्यो सावधानीको योजना बनाएर कार्यान्वयन गर्ने गराउने सम्पूर्ण जिम्मेवारी मुलुक हाँक्ने राजनीतिक प्रणालीको हो । किनकी राजनीति घरघर र कोठाकोठामा पुगेको छ । दोषादोष गरेर प्राकृतिक विपत्तीको सामना गर्न सकिँदैन । सबैले एकाकार भएर मात्र प्रकृतिलाई मावनमैत्री बनाउन सकिन्छ । अनेकौं महामारीबाट सजिलै बँच्न सकिन्छ । जति मानिस प्रकृतिप्रेमी हुनसक्छ त्यतित्यति प्रकृतिसँगको मान्छेको साइनो आत्मीय हुनसक्छ ।