कुराकानी

‘वडाको विकास र समृद्धिका लागि क्रियाशील छौं’

लालबहादुर (एल.बी.) विष्ट झापाको कमल गाउँपालिका–५ को वडाध्यक्ष हुनुहुन्छ । हँसिलो, रसिलो र नविन उर्जा तथा युवा जोशजाँगरका धनी वडाध्यक्ष विष्ट देश र जनताका लागि केही गरौं भन्ने भावनाले ओतप्रोत व्यक्तित्व हुनुहुन्छ । आधारभूत तहका जनताको सेवामा समर्पित भएर राज्य संयन्त्रको तल्लो तहमा रहेर काम गर्न पाउँदा सन्तुष्टि मिल्ने उहाँको भनाई छ । सकेसम्म सहज, सरल र सहयोगी भएर सेवाग्राहीसँग प्रस्तुत हुने वडाध्यक्ष विष्ट सहकारी अभियन्ताको पृष्ठभूमि र सामाजिक सेवाको कार्यमा क्रियाशील हुँदै अहिले जनप्रतिनिधिको भूमिकामा जननिर्वाचित भएर प्रवेश गर्नुभएको हो । ४६ वर्षीय वडाध्यक्ष विष्टसँग वडाका विकास निर्माणका गतिविधि तथा सामाजिक विकासका काम लगायतका बारेमा ज्येष्ठ आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. तपाई जनप्रतिनिधि भएर आएपछि वडामा अहिलेसम्म के कस्ता कामहरु भएका छन् ?

–खासगरी नियमित हुने पूर्वाधार विकासका कामहरु जसमा बाटाघाटा, पुल पुलेसा, कल्भर्ट बनाउने काम त जहिल्यै भइनै रहन्छन्, त्यसका अलावा वडाकै गौरवका रुपमा हाम्रो वडाको वडा कार्यालय नजिकै पाथीभरा चौक उत्तर आदिवासी रंगशाला निर्माणको काम भइरहेको छ । केही वर्षदेखि स्थगित रहेको यो रंगशाला निर्माणको काम संघीय सरकारको १ करोडको बजेटमा सुचारु हुनु खुशीको कुरा हो । यसले सिंगो कमल गाउँपालिकाको परिचय र पहिचानलाई उचो पार्ने विश्वास गर्न सकिन्छ । त्यस्तै चाँजु खोला उत्तरमा रहेको साधु होली सिमसार पर्यटकीय क्षेत्र विकासको काम लगभग अन्तिम चरणमा पुगेको छ । ४ करोडको ठेक्काको साधु होलीमा पर्यटकीय क्षेत्र निर्माण र विकासको कार्य पनि कमल गाउँपालिकाकै लागि अर्को महत्वपूर्ण परियोजना हो । त्यस्तै कोशी प्रदेश सरकारको ४५ लाखको बजेटमा पाडाजुँगी–चुलाचुली खत्री चोकको कालोपत्रे सडक निर्माणको काम पनि शुरु भएको छ । २२०० मिटर लम्बाईको यो सडक निर्माणको योजना क्रमागत योजनामा पर्छ । पाडाजुँगी गीता पेट्रोल पम्प अगाडिको त्रिलोकेश्वर मन्दिर जाने बाटोमा पनि प्रदेश सरकारको १० लाख र स्थानीय जनसहभागिताको ३ लाख गरी जम्मा १३ लाखमा इन्टरलक टाली विच्छ्याउने कार्य सम्पन्न भइ समुद्घाटन समेत भइसकेको छ । त्यस्तै गुह्येश्वरी टोलमा कल्भर्ट र राधाकृष्ण मन्दिरमा इन्टरलक टाली विच्छ्याउने काम पनि भइसकेको छ ।

सामाजिक विकास तर्फ वडामा रहेको विभिन्न ८ वटा टोल विकास संस्थाहरु, स्थानीय सामाजिक संघ संस्था तथा विज्ञ र समूहहरु सँग सहकार्य र समन्वय गरेर क्षमता अभिवृद्धि गर्ने, सचेतना जगाउने र सीप विकासका कामहरु भएका÷भइरहेका छन् । स्थानीय धिमाल जातिको मौलिक संस्कार र संस्कृतिलाई संरक्षण गर्न धिमाल बाजा वितरण गरिएको छ । ५५ जना युवा तथा बालबालिकालाई डिप्लोमा तहको कम्युटर कोर्षमा निःशुल्क तालिमको व्यवस्था गरिएको छ । वडामा रहेका विभिन्न सम्पदा साथै मठ मन्दिर लगायतको संरक्षणका लागि बजेट विनियोजन गरी आवश्यक काम भइरहेको छ । राई, लिम्बू लगायतका जनजातिहरुको समाधीस्थलमा प्रदेश सरकारको बजेटमा घेराबारा गर्नुका साथै पार्किङ, मलामी खाजा घर र शौचालय बनाइएको छ । वडा कार्यालय दक्षिणको साकेला थानलाई पालिकाको १० लाख बजेटमा घेराबारा गरिएको छ ।

२. वडाका लागि बनाइएका योजनाहरु कतिको कार्यान्वयनमा आएका छन् ?

– चालू आर्थिक वर्षका योजनाहरु मध्ये लगभग ६० प्रतिशत योजनाहरु सफलतापूर्वक कार्यान्वयन भइसकेका छन् । बाँकी ४० प्रतिशत योजनाहरु वैशाख जेठसम्ममा पूरा भइसक्ने गरी काम भइरहेको छ । चाँजुदेखि साधुहोली सिमसार पर्यटकीय क्षेत्र जोड्ने झोलुङ्गे पुल प्रदेश सरकारको ४५ लाख बजेटमा ठेक्का लागिसकेको अवस्था छ । प्रदेश सरकारकै १० लाखको बजेटमा सिम्ले खानेपानी योजनाको घेराबाराको काम उपभोक्ता समिति बनाएर शुरु हुनै लागेको छ ।

३. आगामी वर्षका लागि विकास निर्माण लगायतको योजनाहरु के कस्ता रहेका छन् ?

– वडाको बजेटबाट ठूला खालका योजनाका काम गर्न सकिँदैन । तर माथिल्लो सरकारका बजेटबाट पाडाजुँगी गौरीगञ्ज सडकमा सडक बत्तीसहित सौन्दर्यकरण र रतुवा नदीमा ३ सय मिटर तटबन्धन गरी नदी नियन्त्रण गर्ने ठूला योजनाहरु छन् । रतुवा नदी नियन्त्रणका लागि संघीय सरकारमा थप ५ करोडको योजना पेश भएको छ । वडाको टुक्रेदेखि दमकको नमुना वस्ती जोड्न झोलुङ्गे पुल निर्माणको काम गर्नु छ । जसबाट रतुवाका वारिवारीका बासिन्दालाई सिधा आउजाउमा सजिलो हुनेछ । साधु होली सिमसार पर्यटकीय क्षेत्र विकास र आदिवासी रंगशाला निर्माणको कामलाई निरन्तरता दिन पहल गर्नु छ । सिम्ले खानेपानीमा ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको योजना अघि सारिएको छ ।

४. वडामा विद्यमान समस्या र चुनौतीहरु चाहीँ के के छन् नि ?

लागुऔषध दुव्र्यसनको समस्याले हामीलाई सताएको छ । कतिपय होनहार युवाहरु कुलतमा फँसेका छन् । यो समस्याको समाधान, न्यूनीकरण र नियन्त्रणका लागि वर्षेनीजसो सामाजिक अभियानहरु चलाइएका छन् । टोल टोल र विद्यालयमा दुव्र्यसनको समस्या आउन नदिन सचेतनाका कार्यक्रमहरु पटक पटक गरिएका छन् । तर यतिले मात्र नहुँदो रहेछ । सुधार र पुनस्र्थापनाको पाटोमा भने काम गर्न सकिएको छैन । बाल क्लब तथा बाल सञ्जालहरुमा सचेतनाको अभियान संचालन गरिएको छ । अर्कातर्पm सानातिना तथा दुले चोरीका घटनाहरु बेलाबखत हुने गरेका छन् । पाडाजुँगीमा प्रहरीको विट छ, तर पर्याप्त जनशक्तिको अभावमा सुरक्षाको पहुँच पुग्न नसकेको स्थानीय वडावासीको गुनासो छ ।

त्यसैगरी वडाको माथिल्लो बेल्ट जस्तै गुह्येश्वरी, सिम्लेमा जंगली हात्तीको आवतजावत बाक्लै हुन्छ । हात्तीले घर गोठ भत्काइदिने, बालीनाली नष्ट गर्ने, भण्डारण गरिएको अन्नपात खाईदिने समस्या वर्षौंदेखि रहेको छ । यो एउटा आम समस्या पनि हो । रतुवा नदीको भेल वर्षेनीजसो पस्दा नदी आसपासको बस्तीनै जोखिममा पर्ने र खेतीयोग्य जमिन कटानमा पर्ने गरेको छ । खेतीको जमिन बगरमा परिणत हुने गरेको छ । सिम्लेका बासिन्दालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नु हाम्रो अर्को चुनौती रहेको छ । यी समस्या समाधान गर्न र चुनौतीबाट पार पाउन हामी वडाका जनप्रतिनिधिहरु गम्भीर भएर लागिपरेका छौं ।

५. माथिका समस्या समाधानका लागि के कस्ता पहलहरु गरिराख्नुभएको छ ?

– लागुऔषध दुव्र्यसनको समस्या समाधानका लागि स्थानीय टोल विकास समिति, विद्यालय, बासिन्दा र सम्बन्धित सरोकारवालाहरुको राय सुझावबाट के गर्न सकिन्छ भनेर चासो देखाएका छौं । खासगरी दुव्र्यसनमा लाग्नुभन्दा अगाडिनै पूर्वसावधानीका रुपमा त्यसको बेफाइदा र खराब पक्षका बारेमा बालबालिका तथा युवाहरुलाई जानकारी गराइ कुलतमा लाग्न नदिन सचेतनाका कार्यक्रमहरु गरिराखेका छौं । चोरी नियन्त्रणका लागि सरकारी सुरक्षा निकायहरु सँग बेला बेलामा छलफल र सुरक्षा अवस्थाको समीक्षा गरी आवश्यक व्यवस्था गर्न साथै टोलबासी आफँै पनि विना बर्दीका प्रहरी भएकाले सतर्क र चनाखो रहन भनिरहेका छौं । जंगली हात्तीले गरेको उपद्रोमा पूर्ण क्षतिपूर्ति दिन नसकेपनि आवश्यक प्रकृया पु¥याई पहलकदमी गरेर सकेको राहत दिलाएका छौं । अन्य समस्याहरुका लागि वडाबाट सके वडाबाटै, नसके पालिका, अझ माथि जानुपरे प्रदेश सरकार र संघीय सरकार साथै विभिन्न सरकारी निकायहरु सँगको सहकार्य र समन्वयमा समाधानको प्रयत्न गर्ने हाम्रो प्रयास सदैव रहेको हुन्छ ।

६. वडाको बारेमा केही थप बताइदिनुहोस् न ?

कमल–५ मा २७ सय घरधुरी र १२ हजार भन्दा केही बढी जनसंख्या रहेको छ । यहाँ आदिवासी तथा जनजातिको बाहुल्यता रहेको छ भने ब्राह्मण, क्षेत्री, दलित लगायतको मिश्रित बसोबास छ । यातायातको हिसाबले यो वडाको अधिकांश भाग सुगम मानिन्छ । तर बसोबासका हिसाबले भने यो अव्यवस्थित र उल्लेख्य मात्रामा सुकुम्बासी भएको क्षेत्र हो । २ सय सुकुम्बासीको फिल्ड सर्भे भएर भूमि आयोगमा कागजात पुगिसकेको छ तर लालपुर्जा आउन बाँकी छ । दमक नगरपालिका नजिक भएकाले पहाड तथा अन्यत्रबाट श्रम गर्न बसाइँ आउने चलन छ । थोरै जग्गा खरिद गरेर होस् या डेरा बसेर आउने मानिसहरुका कारण जनसंख्याको वृद्धि तिब्र छ ।

शिक्षाको क्षेत्रमा मंगलमय माध्यमिक विद्यालय झापा जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा चिनिन थालेको छ । धेरैजसो संस्थागत निजी विद्यालयको गुणस्तर र अवस्था पनि राम्रोनै छ । वडामा धेरैजसो सचेत मानिसहरुको बसोबास छ । स्वास्थ्य क्षेत्रमा पनि पूर्ण खोपयुक्त वडाका रुपमा घोषणा हुने तयारी भइरहेको छ । पालिकाको क्याम्पा तोपगाछीमा कमल नगर अस्पताल भएकाले स्वास्थ्य बिमा अन्तर्गतको उपचार सेवा पनि पाइन्छ । नजिकै दमक भएकाले गम्भीर स्वास्थ्य समस्याका लागि पनि कतिपय अवस्थामा सहज सेवा लिन सकिन्छ । त्यस्तै खानेपानीमा लखनपुर खानेपानी झापा जिल्लाकै उत्कृष्ट भएर कोशी प्रदेश सरकारबाट सम्मानित पनि भएको छ । कमल गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भइसकेको छ भने युवामैत्री पालिका बनाउन आवश्यक पूर्वतयारी भइरहेको छ । वडा कार्यालय सँगै आधारभूत स्वास्थ्य केन्द्रबाट पनि आधाभूत सेवा लिन सकिन्छ । अहिले वडा कार्यालयमा घेराबाराको काम पनि भइरहेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानित र मर्यादित जीवन यापनका लागि हामी जनप्रतिनिधिहरु चनाखो रहेका छौं । बेला बेलामा सम्मानका कार्यक्रमहरु हुने गरेका छन् । (ज्येष्ठ आवाजको चौथो अंकमा प्रकाशित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *