कमल/ झापाको कमल–५ स्थित संझौता वचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट कारोबारीहरुलाई सम्मान गर्दै १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संझौताले गत आ.व.मा ४ करोड २६ लाख २५ हजार ३६५ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको शेयर पुँजी ८० लाख ७९ हजार, वचत २ करोड ५९ लाख ५१ हजार ६८२, कर्जा प्रवाह ३ करोड ५ लाख ६७ हजार ७६७ र जगेडा कोषमा ४९ लाख १३ हजार ५७२ रुपैयाँ रहेको अध्यक्ष वासुदेव चापागाईको प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष चापागाईले प्रतिवेदन प्रस्तुत गर्दै संस्था नाफामा रहेको र यस वर्षदेखि सहुलियत कर्जाको व्यवस्था गरिएको जानकारी गराए । उनले शेयर सदस्यहरुको निगरानीमा सहकारीका सबै मूल्य मान्यताहरुलाई अनुसरण गर्दै आवश्यक वचत तथा ऋणको व्यवस्था, सामाजिक तथा स्वास्थ्य कार्यक्रम, शेयर लाभांश वितरण, तालिम तथा अध्ययन अवलोकन भ्रमण, लेखा व्यवस्थापन, पुरस्कार तथा सम्मान, राहत कोष परिचालन, कर्मचारी व्यवस्थापन लगायतका कार्यहरु गरिँदै आएको प्रष्ट पारे । प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक चूडामणि ओझाले सहभागी शेयर सदस्यहरुलाई नियमित वचत गर्ने बानी बसाल्न आग्रह गरे ।

सहकारी अगुवा ओझाले कोरोना महामारी पछि सहकारी क्षेत्रमा विविध खालका समस्याहरु देखापरेको भन्दै सहकारी संस्थाहरुलाई जीवन्त राख्न नयाँ मोडलमा जानुपर्ने र त्यो भनेको शेयर रकम सबैको बराबर बनाउनुपर्ने साथै वचत नियमित र एकनासले हुनुपर्ने धारणा राखे । कार्यक्रममा सहकारी समन्वय समिति कमल–५ का संयोजक प्रमोद कुमार दाहाल र राष्ट्रिय सहकारी बैंक दमकका प्रतिनिधि तीर्थ बानियाँले आफ्ना भनाईहरु राखेका थिए । संझौताका व्यवस्थापक दुर्गा गौतम सौरभले सहकारी सम्बन्धी कविता वाचन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष द्रोण कुमार दनुवार र कार्यक्रम संचालन सचिव भक्ति प्रसाद नेपालले गरेका थिए ।

साधारण सभामा उत्कृष्ट ज्येष्ठ वचतकर्ता, बाल वचतकर्ता र कर्जा कारोबारीलाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्यका छोरा छोरी मध्ये एस.ई.ई.मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालय तर्फ मंगलमय माध्यमिक विद्यालयकी छात्रा गरिमा सापकोटा र निजी तर्फ दमकको सिद्धार्थ बोर्डिङ स्कूलकी सेसाम नेम्वाङलाई पनि नगद सहित पुरस्कार प्रदान गरिएको थियो ।
