विश्व

बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

फाइल तस्बिर

ढाका । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।

देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृङ्खला हो।

आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताउनुभयो ।

कैदीहरूले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताउनुभएको छ । “कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ”, उहाँले भन्नुभयो ।

त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्लबार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताउनुभयो ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताउनुभयो । झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उहाँले उल्लेख गर्नुभयो ।

हसिना सरकार विरुद्ध विरोध प्रदर्शन सुरु भएदेखि बङ्लादेशभरी कैदीबन्दीहरु जेलबाट भाग्ने प्रयासमा छन् । पूर्व प्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५ सय भन्दा बढी कैदीहरू भागेका थिए । रासस/ एएफपी

facebook sharing button Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *