स्वास्थ्य

झापा पनि पूर्ण खोप सुनिश्चित जिल्ला

भद्रपुर । झापा पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको छ । यही असार ३० गते कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेका बेला मोरङपछि झापालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले झापा जिल्ला पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला भएको घोषणा गर्नुभएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

त्यस अवसरमा स्वास्थ्यमन्त्री कार्कीले प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको सन्दर्भ उल्लेख गर्दै यस कार्यमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । जिल्ला समन्वय समिति झापाका प्रमुख तथा खोप समन्वय समिति संयोजक विश्वनाथ बरालले पूर्ण खोप सुनिश्चित कार्यलाई व्यवहारमा रुपान्तरण गर्न र निरन्तरता दिन सम्बन्धित सबैको योगदान अपेक्षित रहेको प्रकाश पार्नुभयो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लाका १५ वटै स्थानीय तहबाट प्राप्त तथ्यांक र सूचकका आधारमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी गराउनुभयो । झापामा खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित भएको पनि उहाँले प्रष्ट पार्नुभयो । झापामा २ सय ८७ खोप केन्द्रबाट खोप कार्यक्रम संचालन हुँदै आएको पनि त्यस अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *