समाचार

कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक अन्तरक्रिया तथा गोष्ठी

विराटनगर / कोशी प्रदेश स्तरीय ज्येष्ठ नागरिक सरोकारावालाहरुको दुई दिने वृहत अन्तरक्रिया तथा गोष्ठी मोरङको विराटनगरस्थित विष्णुमाया सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा ज्येष्ठ नागरिक अभियन्ताहरुद्वारा प्रस्तुत विभिन्न विषयका कार्यपत्र तथा प्रस्तुतिमाथि वृहत छलफल तथा अन्तरक्रिया गरी निष्कर्षका रुपमा ९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । सो प्रतिवद्धता पत्रलाई कोशी प्रदेशकै सम्पत्तिको रुपमा लिएर आगामी दिनहरुमा ज्येष्ठ नागरिक अभियानलाई सोहीअनुसार अघि बढाउने र सरकारका तर्फबाट कार्यान्वयनका लागि पहलकदमी गर्ने वाचा गरिएको छ ।प्रतिवद्धता पत्रमा सबै खालका भौतिक पूर्वाधारहरुलाई ज्येष्ठ नागरिकमैत्री हुनेगरी निर्माण गर्ने, विद्यालय र क्याम्पसमा ज्येष्ठ नागरिक स्वास्थ्य विज्ञान विषयको पाठ्यक्रम तयार गरी अध्ययन अध्यापनको व्यवस्था गर्न पहल गर्ने, आधुनिक ज्ञान, सीप, विज्ञान, प्रविधि तथा परिवर्तित परिस्थितिहरुका बारेमा सचेतना जगाउने अभियान संचालन गर्ने, भएका ऐन कानुनहरु कार्यान्वयन गराउन र प्रदेशका सबै स्थानीय तहमा ऐन कानुन, नीति र कार्यविधिहरुलाई पूर्णता दिलाउन कार्य गर्ने, सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा निःशुल्क गराउने साथै सबै तहका अस्पतालहरुमा ज्येष्ठ नागरिक परामर्श डेस्कको स्थापना गर्ने, ज्येष्ठ नागरिकहरुको ज्ञान, अनुभव र सीप पुस्तान्तरणका लागि सरोकारवालाहरुलाई परिचालन गराउने, ६० देखि ७० वर्ष सम्मका ज्येष्ठ नागरिकहरुको विगतको विज्ञतालाई उपयोग गर्नेगरी स्थानीय तहमा कार्यविधि निर्माण गर्न लगाउने तथा ज्येष्ठ नागरिकको मुद्दा र अधिकारका लागि काम गर्ने संघ संस्थाहरुको अभिलेख दुरुस्त राख्ने अनि राज्यबाट प्रदान गरिने सेवा सुविधाहरु एकै ठाउँ र एकद्वार प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउने लगायतका कुरा उल्लेख गरिएको छ । कोशी प्रदेशमा ज्येष्ठ नागरिकहरुका लागि यस्तो प्रतिवद्धता पत्र शायदै पहिलो पटक जारी गरिएको हो ।अन्तरक्रिया तथा गोष्ठी कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश ज्येष्ठ नागरिक समिति र कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा आयोजना गरेका हुन् । असार ७ र ८ गते भएको सो कार्यक्रमको उद्घाटन तथा प्रमुख आतिथ्यता कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो । उपसभामुख दनुवारले त्यस अवसरमा बोल्दै ज्येष्ठ नागरिकहरुको जनसंख्या बढ्दै गइरहेको सन्दर्भमा उनीहरुको स्याहार, संरक्षण, सम्मान र सहज जीवनयापनका लागि राज्यले समयोचित व्यवस्थापन गर्न सक्नुपर्ने बताउनुभयो । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अज्र्यालले शुभकामना मन्तव्य राख्दै महासंघले अघि सारेका मागहरु र प्रदेश सरकारलाई विगतमा दिएका सुझावहरु ग्रहण गरी ज्येष्ठ नागरिकको समग्र हितका कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राख्नुभयो ।उद्घाटन पछिको पहिलो र दोश्रो दिनका सत्रहरुमा ज्येष्ठ नागरिक अभियन्ता खगेन्द्र प्रसाद सिक्तेलले ज्येष्ठ नागरिक ः हिजो, आज र भोली विषयक प्रस्तुति त्यसबारेमा टिप्पणी मणिकुमार अज्र्याल, मानवअधिकारकर्मी देवी बाँस्कोटाले अन्तरपुस्ता सम्बन्ध, श्रीधर लामिछानेले पोषण स्वास्थ्य र त्यसबारे टिप्पणी हरि सिटौला, कानुन व्यवसायी डा. मेदनी सेढाइँले ज्येष्ठ नागरिक सम्बन्धी ऐन कानुन र नियमावली र सो बारे टिप्पणी विष्णुमाया सामुदायिक पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले गर्नुभएको थियो भने प्रस्तुतिका क्रममा समूह विभाजन गरी त्यसको नेतृत्व रुद्रबहादुर तामाङले कुशलतापूर्वक गर्नुभएको थियो । गोष्ठीको समापनमा प्रमुख अतिथिका रुपमा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले ज्येष्ठ नागरिकहरुको हक, हित, अधिकार र कल्याण एवं संरक्षणको सवालमा काम गर्ने संघ संस्थाहरुलाई प्रदेश सरकारले सदैव प्रोत्साहित गर्ने र सहकार्य गरेर अघि बढ्ने नीति रहेको प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ज्येष्ठ नागरिक समितिको उपाध्यक्ष डिल्ली खतिवडा, स्वागत मन्तव्य महासचिव कृष्णप्रसाद घिमिरे र कार्यक्रम संचालन सचिव कमलप्रसाद दाहालले गर्नुभएको थियो । गोष्ठीमा प्रदेशका विभिन्न १० जिल्लाका ८२ जना ज्येष्ठ नागरिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *