कमल/ केही दिनदेखिको झरीको बावजुद पनि झापाको कमल गाउँपालिकामा बालबालिका र गर्भवती महिलाको नियमित खोप कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । कमल–२ स्थित भुत्लुङमा यस महिनाको खोप कार्यक्रम सम्पन्न भएको हो । कमल नगर अस्पतालले हरेक महिनाको १५ गते बालबालिका तथा गर्भवती महिलाहरुका लागि नियमित खोप सहित सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा आज आइतबार पनि नियमित खोप सेवाको कार्यक्रम संचालन हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
शनिबारको कार्यक्रममा बालबालिका र गर्भवती महिलाहरुलाई विभिन्न किसिमका खोपहरु प्रदान गरिएको कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले जानकारी गराए । त्यस क्रममा खोप लिन आउनेहरुलाई सरसफाइ, पोषण र मातृ शिशु सम्बन्धी सचेतना सत्र पनि संचालन गरियो ।

प्रतिकूल मौसम र सार्वजनिक बिदाको दिन नभनी अस्पतालका स्वास्थ्यकर्मीहरुले संचालन गरेको सो कार्यमा स्वास्थ्यकर्मीहरु दिपक प्रसाद दाहाल र अञ्जना सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका इन्दिरा खड्का लगायतको सक्रियता रहेको थियो । कमल नगर अस्पतालले भुत्लुङमा संचालन गर्दै आएको खोप सेवा प्रत्येक महिना निरन्तर संचालन गर्दै आएको छ । यस्तो सेवा प्राप्त गरेकोमा स्थानीय आमा भिमा विश्वकर्माले खुशी व्यक्त गरिन् ।
मातृशिशु स्वास्थ्य र नियमित खोपको कार्यक्रमलाई कमल गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको साथै तोकिएको उमेर समूहका बालबालिका र तिनका आमा बाबुका लागि सहज सेवा सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । त्यस्तै, वडा नं २ का वडाध्यक्ष अशोक सुब्बाले नियमिति खोप सेवाबाट स्थानीय सेवाग्राहीहरुमा सकारात्मक प्रभाव परेको प्रतिक्रिया दिए ।
त्यसैगरी कमल नगर अस्पतालका मे.सु. डा. फुलकचन्द्र लावतीले नियमित खोप र स्वास्थ्य सेवाले बाल मृत्युदर घटाउन, मातृ शिशु स्वास्थ्य सुधार गर्न र सम्बन्धित सेवाग्राहीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

