समाचार

चाँजु टुक्रेमा नयाँ तेश्रो आयोजना मागसँगै क्षमता बढाउँदै लखनपुर खानेपानी

दमक/ लखनपुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले झापाको कमलका उपभोक्ताहरुका लागि आफ्‌नो क्षमता अभिवृद्धि गर्दै लगेको छ । लखनपुर खानेपानीले आउँदो केही वर्षमै करिव १९ करोड बराबरको नयाँ तेश्रो आयोजना सम्पन्न गर्ने लक्ष्य सहित काम गरिरहेको छ । जसअनुसार कमल गाउँपालिका–५ को टुक्रे चाँजुमा रहेको ३ कठ्ठा जग्गामा साढे ४ लाख लिटर क्षमताको ओभर हेड खानेपानी ट्याङ्की निर्माण गर्ने प्रारम्भिक तयारी भइसकेको समितिको अध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी गराएका छन् ।
सो ठाउँमा अहिले २ करोड ४५ लाख बराबरको बजेट संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट प्राप्त भएको छ । त्यो बजेटबाट टुक्रे चाँजुको जग्गामा कम्पाउण्ड वाल निर्माण गर्ने, ल्याण्ड पुलिङको काम गर्ने, सुरक्षा गार्ड आवास बनाउने, खानेपानी पाइप विस्तार गर्ने, पानीको लागि डिप बोरिङ गाड्ने, फिल्टर प्लान्ट जडान गर्ने लगायतका आधारभूत कामहरु चालू आर्थिक वर्षभित्रनै पूरा गर्ने गरी हुने भएको छ । बाँकी कामका लागि संघीय सरकारलाई अर्को वर्ष बजेट मागको निवेदन गरिएको र डीपीआर तयार गरी पेश गरिएको पनि अध्यक्ष निरौलाले प्रकाश पारे ।
लखनपुर खानेपनीले हाल सम्म ५ हजार ५ सय घरधुरीलाई धारा जडान गरी शुद्ध, सफा र स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ । लखनपुरको खानेपानी अन्यत्रको भन्दा निकै गुणस्तरीय पनि मानिएको छ । कमल गाउँपालिकाको वडा नं. ४ को केही भाग, ५ र ६ को पूरा भाग तथा ७ को अधिकांश भागमा खानेपानी प्रवाह भइ उपभोक्ताहरुले खानेपानी पाइरहेको अवस्था छ । लखनपुर खानेपानीका हाल मूल कार्यालयमा २ वटा र कमल–६ को शीतलडाँडामा १ वटा ओभरहेड ट्याङ्की कामकाजी अवस्थामा रहेका छन् । चाँजु टुक्रेको तेश्रो आयोजना पूरा भएपछि लखनपुरको प्रभाव क्षेत्रभित्र रहेका उपभोक्ताहरुलाई खानेपानी प्राप्त गर्न कुनै समस्या नहुने र पूर्ण क्षमतामा सेवा प्रवाह हुने आशा र विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *