समाचार

नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

कमल/ झापाको कमल–५ स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा आइतबार सितापुरीको जलकन्या मन्दिरमा सम्पन्न भएको छ । कमल गाउँपालिका सहकारी शाखाका प्रमुख मनिष यादवको प्रमुख आतिथ्यता र वडा नं. ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराईको विशेष आतिथ्यतामा भएको सो साधारण सभामा ज्येष्ठ शेयर सदस्य, असल कारोबारी, आवधिक वचतकर्ता, मासिक वचतकर्ता, दैनिक वचतकर्ता, बाल वचतकर्ता, उत्कृष्ट कृषक, गाईपालन, वंगुरपालन, बाख्रा पालन, कुखुरा पालन गर्ने उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष रुपनारायण दाहालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा संयोजक खगेन्द्र भट्टराईले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । अध्यक्षको प्रतिवेदनका अनुसार संस्थाको शेयर पुँजी १ करोड ४७ लाख ७७ हजार २ सय, कोष पुँजी ४९ लाख ९९ हजार २९९ रुपैयाँ, निक्षेप संकलन ४ करोड ४७ लाख ६० हजार १८४ रुपैयाँ र दायित्व १० लाख ३५ हजार १६६ रुपैयाँ रहेको छ । अध्यक्ष दाहालले आगामी वर्षमा कमल–४ मा रहेको संस्थाको ३ कठ्ठा जग्गामा आफ्‌नै भवन निर्माण गर्ने, दूध संकलन तथा दुग्धजन्य वस्तुको कारोबार शुरु गर्ने, कृषि तथा पशुपालनको व्यवसाय गर्ने किसानहरुलाई लगानी र तालिम दिने योजना पनि अघि सारेका छन् । साथै सीपमूलक आत्मनिर्भर उन्मुख तालिम संचालन गर्ने योजना पनि अघि सारिएको छ । संस्थाले उ्रन्नत जातको तरकारी तथा अन्नका बीउविजन, रसायनिक मल समेत विक्री वितरण गर्दै आएको छ ।

साधारण सभामा प्रमुख अतिथि यादव, विशेष अतिथि वडाध्यक्ष भट्टराई, युवा तथा स्वरोजगार कोषका झापा जिल्ला संयोजक सन्तोष सापकोटा, स्थानीय सिद्धदेवी आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमराज राईले शुभकामना मन्तव्य राखेको व्यवस्थापक घनश्याम गौतमले जानकारी गराए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुफान राई र कार्यक्रम संचालन सचिव चन्द्रप्रसाद आचार्यले गरेका थिए । साधारण सभामा शेयर सदस्यका छोरामध्ये उत्कृष्ट जिपिए ल्याउने एक छात्रलाई पनि सम्मान पत्रले सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *