दमक/ झापाको दमक र शिवसताक्षीमा पनि ३३ औं विश्व अल्जाइमर्स चेतना दिवस सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । दमक–८ स्थित ज्येष्ठ नागरिक संघ दमक नगर समितिले सो दिवस मनाउनेक्रममा डा. लेखनाथ न्यौपानेले अल्जाइमर रोग के हो, यो रोग लाग्न नदिन के कस्ता सावधानीहरु अपनाउने तथा लागीसकेपछि कसरी उपचार व्यवस्थापन गर्ने भन्ने बारेमा उदाहरण सहित जानकारी गराए ।
सहजकर्ता डां न्यौपानेले मानिसको जीवनलाई धनसम्पत्ति सँग तुलाना गर्न नसकिने भन्दै बिहान चाँडै उठने, राती समयमै सुत्ने, गहिरो र पर्याप्त निद्रा लिने, सकारात्मक सोच र विचार गर्ने, असल काम गर्ने, कसैप्रति रिस राग र इर्ष्याको भाव नराख्ने, बद्लाको भावना नराखी क्षमा गर्ने र आफूले गलत गरेमा स्वीकार गरेर आफैँ सँग माफी माग्ने, लोभ, मोह र स्वार्थ त्याग गरी सत्मार्गको जीवन बिताएमा सुख, आनन्द र खुशी प्राप्त हुने अनि त्यसबाट अल्जाइमर्स जस्ता विर्सने रोग लाग्नबाट पनि बच्न सकिने बताए । दिमागलाई अनावश्यक लोड दिएमा र नकारात्मक सोच राखेमा बेलैमा अल्जाइमर जस्ता रोग व्याधीले समात्ने पनि उनले प्रष्ट पारे ।

कार्यक्रममा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका सचिव जयप्रसाद संग्रौलाले अल्जाइमर रोगको उत्पत्ति र इतिहासका बारेमा बोलेका थिए । प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय कार्यसमिति सदस्य तथा ज्येष्ठ आवाजका पत्रकार पंकज दाहालले ज्येष्ठ नागरिकको हक, हित, अधिकार र सामाजिक सुरक्षाका विषयमा महासंघले गरिरहेका काम र गतिविधिका बारेमा जानकारी गराए । पत्रकार दाहालले पछिल्लो समय देशका विभिन्न ठाउँमा पालिका र वडा स्तरमा खुलेका दिवा सेवा केन्द्रहरुको माध्यमबाट ज्येष्ठ नागरिकको अभियानले गति लिएको अवस्था दर्शाउँदै महासंघले पनि केन्द्रदेखि वडा तह सम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको सरकार सँग सहकार्य र समन्वयमा ज्येष्ठ नागरिकको हक, हित र अधिकारका लागि काम गरिरहेको प्रष्ट पारे ।
ज्येष्ठ नागरिक संघ दमक नगर समितिका अध्यक्ष वयोवृद्ध लक्ष्मीप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघ झापाका सल्लाहकार तथा संघ दमकको कार्यसमिति सदस्य पम्फादेवी दाहालले स्वागत र कार्यक्रम संचालन संघका सचिव गंगाप्रसाद संग्रौलाले गरेका थिए ।
यसैगरी सोमबार सेप्टेम्बर २१ कै दिन झापाको बुद्धशान्ँित र शिवसताक्षीमा पनि विश्व अल्जाइमर्स दिवस मनाइएको जानकारी प्राप्त भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित ज्येष्ठ दिवा सेवा चौतारीमा ज्येष्ठ नागरिक नगर समितिका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीको अध्यक्षतामा मनाइएको दिवसको कार्यक्रममा स्वास्थ्यकर्मी देवीप्रसाद दंगालले अल्जाइमर्स रोगको लागेका व्यक्तिले भोग्नुपर्ने समस्या, त्यसको असर र त्यस्तो व्यक्तिको परिवारमा कसरी रोगी व्यक्तिको हेरचाह गर्ने भनेर जानकारी गराएका थिए ।
समितिका सल्लाहकार संयोजक पदमप्रसाद दाहालले अल्जाइमर्स रोग लाग्न नदिन सकेसम्म व्यक्तिले आफू, आफ्नो शरीर र दिमागलाई सक्रिय र चलायमान राख्नुपर्ने धारणा राखेका थिए । सक्रिय जीवन र सक्रिय बुढ्यौली नै रोगबाट बच्ने उपाय हो भन्दै अल्जाइमर रोग लागीहालेमा बेलैमा औषधी उपचार र त्यसको असर पछि दैनिक जीवन व्यवस्थापन गर्नुपर्ने जुन कठीन हुने उनको भनाई थियो । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ८ का जयश्वर आङ्देम्बे, १० का ज्येष्ठ समितिका अध्यक्ष सोमध्वज कार्की, कपिलमणि शिवाकोटी, गीतादेवी न्यौपाने लगायत कतिपय सहभागीहरुले आफ्ना आफ्ना अनुभवहरु सुनाएका थिए । समितिका वरिष्ठ उपाध्यक्ष नरपति पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सह–सचिव पूर्णबहादुर बस्नेतले गरेका थिए ।