हेटौंडा/ ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरको १४ औं वार्षिक साधारण सभा एकैसाथ ३३ औं विश्व अल्जाइमर्स चेतना दिवस समेत मनाउँदै हेटौंडामा सम्पन्न भएको छ । यही असोज ४ गतेका दिन हेटौंडा नगरपालिका–२ चौकीटोलस्थित ॐ वृद्धाश्रम भवनमा एक समारोहका बीच साधारण सभा सम्पन्न भएको हो । त्यस अवसरमा एक जना ज्येष्ठ आमा र एक जना उत्कृष्ट स्याहारकर्तालाई सम्मान पनि गरिएको छ ।
सम्मानित हुनेमा ज्येष्ठ आमा मानकुमारी पराजुली र उत्कृष्ट स्याहारकर्ता माधवप्रसाद शर्मा रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य तथा वागमती प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ्ग, महासंघका केन्द्रीय सदस्य वेगम बराल र वागमती प्रदेश ज्येष्ठ नागरिक महासंघका महासचिव केशवप्रसाद सन्जेल, प्रदेश महासंघका सल्लाहकार बुद्धिप्रसाद पौडेल लगायतले दोसल्ला, प्रमाण पत्र र अविर टीकाले सम्मान गरेका थिए । प्रमुख अतिथि ज्येष्ठ महासंघका केन्द्रीय सदस्य प्रधानाङ्गले ज्येष्ठ नागरिकको हक, हित, अधिकार र सामाजिक सुरक्षाका लागि सबै ज्येष्ठ नागरिकहरु महासंघ र मातहतका संघ संगठनहरुमा आवद्ध भएर एकीकृत रुपमा अभियानमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. २ का प्रतिनिधि इन्द्रप्रसाद रिजाल, बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछाने, ज्येष्ठ नागरिक हेटौंडा उपमहानगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपाली, दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल रातमाटेका अध्यक्ष यादवप्रसाद गजुरेल, श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रमका उपाध्यक्ष उद्धवप्रसाद दाहाल लगायत ज्येष्ठ नागरिक अभियन्ता तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । अतिथिहरु लामिछाने, नेपाली, दाहाल लगायतले शुभकामना मन्तव्य पनि राखेका थिए । ज्येष्ठ नागरिक जिल्ला संघ मकवानपुरका अध्यक्ष हरिप्रसाद सिग्देलको अध्यक्षतामा भएको साधारण सभामा उहाँले संघको वार्षिक प्रतिवेदन र संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा आवश्यक छलफल पछि पारित गरिएको थियो । अल्जाइमर्स दिवसमा त्यस रोग र दिवसका बारेमा वागमती प्रदेश ज्येष्ठ नागरिक महासंघका महासचिव केशवप्रसाद सन्जेलले सहजीकरण गरेका थिए । साधारण सभाका अवसरमा संघले संस्थाको पाँच वर्षे सदस्यता प्राप्त गरेका सदस्यहरुलाई सदस्यता प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला संघका सह–सचिव यादवप्रसाद गजुरेलले स्वागत मन्तव्य राखेका थिए ।