दमक/ झापाको दमक–६ स्थित ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाले दमक फन पार्कमा बोलाएर संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । फन पार्कको सभाहलमा शुक्रबार आयोजित साधारण सभाको कार्यक्रममा अध्यक्ष राजेन्द्र दंगालले वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक यज्ञप्रसाद सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेकोमा आवश्यक छलफलपछि ती दुवै प्रतिवेदन सुझाव सहित सर्वसम्मतिबाट पारित गरिएको छ ।
अध्यक्ष दंगालको प्रतिवेदनका अनुसार सहकारीको शेयर १ करोड ४७ लाख ७८ हजार ७२५ रुपैयाँ, वचत ९ करोड ३२ लाख ७६ हजार १३७ रुपैयाँ र कर्जा लगानी ८ करोड ८६ लाख ५४ हजार ७२५ रुपैयाँ रहेको छ । आगामी दिनमा शेयर सदस्य बढाउँदै लैजाने र कारोबार बढाइ संस्थाको नाफा वृद्धि गर्ने लक्ष्य रहेको छ । सो सहकारीले सदस्य शिक्षा, क्षमता विकास र विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । शेयर सदस्यहरुलाई सहुलियत व्याज दरमा कर्जा, विभिन्न राहतका सुविधा र सेवाहरु प्रदान गर्दै आएको पनि जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि संस्थका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले सो सहकारीका
केही फरक विशेषताहरु रहेको जसमा दमकमै एक मात्र सक्षम महिला व्यवस्थापक रहेको, दिवंगत पूर्व अध्यक्षका श्रीमतीहरुलाई कार्यक्रममा आमन्त्रित गरेर विशेष अतिथि राखिने गरेको जस्ता उदाहरणहरु दिँदै विगतको वर्ष संस्थाले १३ लाखजति नाफा कमाएर प्रगति गरेको कुरा सकारात्मक रहेको बताए । विद्यमान अवस्थामा सहकारी क्षेत्रमा विभिन्न समस्याहरु देखिए पनि ॐ सतारी विधि, प्रकृया र नियममा चल्ने सहकारी भएको हँुदा सबैले सहयोग र विश्वास गर्नुपर्छ भन्ने उनको भनाई थियो ।
साधारण सभामा यसपटक उत्कृष्ट कर्मचारीका रुपमा रोमन तिम्सिनालाई नगद ५ हजार सहित प्रमाण पत्र दिएर पुरस्कृत गरिएको छ । त्यस्तै कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्यका छोरा छोरीमध्ये शेयर सदस्य अनिल न्यौपानेकी छोरी अन्शु न्यौपाने र अर्का शेयर सदस्यका छोरा अनमोल अधिकारीलाई जनही नगद ३ हजार र प्रमाण पत्रबाट पुरस्कृत एवं सम्मानित गरिएको छ । कार्यक्रममा संचालक सदस्य तिलु राईले पनि शुभकामना मन्तव्य राखेको व्यवस्थापक हेमकुमारी दंगालले जानकारी गराइन् ।
संचालक सदस्य उमा सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्षता सहकारीका अध्यक्ष राजेन्द्र दंगाल र कार्यक्रम संचालन आलोपालो गरी उपाध्यक्ष टेकबहादुर चेम्जोङ साथै संचालक सदस्य फूलमाया नेम्वाङले गरेका थिए । कार्यक्रममा दिवंगत पूर्व अध्यक्षहरु देवीप्रसाद कँडेलकी श्रीमती बाटुलादेवी कँडेल र देउकुमार लिम्बूकी श्रीमती बेनु लिम्बू, संचालकहरु सर्वध्वज निरौला र श्याम तिम्सिना तथा पत्रकार पंकज दाहाल लगायतको पनि आतिथ्यता रहेको थियो ।