दमक/ झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा ८० वर्षमाथिका २० जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्दै सोमबार सम्पन्न भएको छ । भदौ १६ गतेदेखि मुख्य कार्यालयबाट शुरु भएको साधारण सभामा विभिन्न ७ वटा इकाइमा इकाइगत साधारण सभा सम्पन्न गरी २९ गते समापन सभा गरी सफलतापूर्वक सम्पन्न भएको हो । साधारण सभाको अन्तिम दिन सोमबार विभिन्न इकाइहरुमा भएगरेका निर्णयहरुलाई एकमुष्ट गरी तिनको माइन्यूट प्रमाणिकरण समेत गरिएको छ ।
मुख्य कार्यालयमा भएको माइन्यूट प्रमाणिकरण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती रहेका थिए । अध्यक्ष उप्रेतीले प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाहरुका मालिक शेयर सदस्यहरु भएकोले उनीहरुको सचेत निगरानीमा सञ्चालन भएका सहकारीहरुमा कुनै समस्या नआउने बताए । उनले विधि, प्रकृया र कानुन मिचेर विगतमा सञ्चालन गरिएका कतिपय सहकारी संस्थाहरुमा समस्या आएपनि हाल सरकारले विशेष सजगता अपनाइ कडाइ गरेको हुँदा अब उप्रान्त शेयर सदस्यहरुको रकम र सम्पत्तिमा हिनामिना र लापरवाही गर्न पाउने दिन सकिएको प्रष्ट पारे । केही सहकारीहरुमा समस्या देखियो भन्दैमा अन्य सबै सहकारीहरुलाई एउटै डालोमा राख्नु युक्तिसंगत र न्यायोचित नहुने उनको भनाई थियो ।

कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइराला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद गुरागाई र मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायणप्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वचत तथा कर्जा कारोबार तर्फ उत्कृष्ट शेयर सदस्यहरुलाई रुद्राक्षको माला, खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो भने ८० वर्षमाथिका ज्येष्ठ शेयर सदस्यहरुलाई पनि सोही प्रकारले सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।
सो सहकारी संस्थाका अध्यक्ष भरतकुमार चम्लागाईले कार्यक्रमको अध्यक्षता गर्दै अतिथि र सहभागीहरुको जानकारीका लागि वार्षिक प्रतिवेदनमा भएका भावी योजना र संस्थाको विगतमा गरिएको गतिविधिका बारेमा प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा कक्षा १२ को विज्ञान संकायमा उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्य डिल्लीराम गौतमका छोरा विद्यार्थी सौगात गौतम र अन्य संकायमा उत्कृष्ट जीपीए ल्याउने अर्का शेयर सदस्य शिवराम गौतमका छोरा विद्यार्थी उपेन्द्र गौतमलाई नगद पाँच हजार, दोसल्ला र प्रमाण पत्रले पुरस्कृत एवं सम्मानित गरिएको थियो । उपाध्यक्ष विमलप्रसाद निरौलाले स्वागत मन्तव्य राखेको साधारण सभामा कार्यक्रम सञ्चालन व्यवस्थापक मोहनमणि गौतमले गरेका थिए । कार्यक्रममा सो सहकारीका संस्थापक संयोजक घनश्याम भण्डारी र सल्लाहकार संयोजक पूर्व अध्यक्ष मणिकुमार भण्डारी, संस्थापक अध्यक्ष चन्द्रप्रसाद नेपाल, पूर्व व्यवस्थापक निलकण्ठ निरौला लगायत अगुवा सहकारी अभियन्ताहरुको आतिथ्यता रहेको थियो ।