Jestha Aawaj | ज्येष्ठ आवाज

कमल नगर अस्पतालमा हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा

दमक/ झापाको कमल गाउँपालिका मातहतको कमल नगर अस्पतालमा यही २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन हुने भएको छ । कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा बसेको समितिको बैठकले भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्थानीय नागरिकलाई स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ । भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य बिरामीहरूलाई थप सहज हुने अपेक्षा गरिएको छ ।
अध्यक्ष राईले कमल नगर अस्पताललाई आधुनिक, व्यवस्थित, प्रविधिमैत्री तथा नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यअनुसार अस्पतालको सेवा तथा पूर्वाधार विस्तारमा जोड दिँदै आएका छन् ।

यसअघि नै कमल नगर अस्पतालले मानसिक स्वास्थ्य विशेषज्ञसहितको सेवा, दन्त सेवा तथा आँखा सेवा विस्तार गरिसकेको छ । भिडियो एक्स–रे सेवासमेत थपिएसँगै अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा अझ फराकिलो हुने भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दीपक दाहाल, अस्पताल प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अस्पतालले साउन २५ गते सोमबारदेखि हप्ताको दुई दिन नियमित रूपमा भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने जनाएको छ । भिडियो एक्स–रे सेवा सञ्चालनसँगै स्थानीय नागरिकले समय तथा खर्च बचत गर्दै आफ्नै पालिकामा आवश्यक स्वास्थ्य जाँच तथा उपचार सेवा लिन पाउने भएका छन् ।

Exit mobile version