दमक/ समाजसेवी भोजकुमार घिमिरेको जीवनी, आत्मकथा र संस्मरण समेटिएको कृति ‘जीवन दर्पण’ झापाको दमकमा लोकार्पण गरिएको छ । कृति लोकार्पण समारोहका प्रमुख अतिथि प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको हातबाट सो कृति लोकार्पण गरिएको हो । साथमा रहेका विशेष अतिथिहरु दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपाल प्रसाद भण्डारी, इटहरीका साहित्यसेवी लेखनाथ घिमिरे, साहित्यकार हेम अधिकारी, राजनीतिकर्मीद्वय रोमनाथ ओली र अर्जुन राई तथा कृति नायक भोजकुमार घिमिरेले पनि सामूहिक रुपमा कृति लोकार्पण गरे ।
कृतिमा २२ जना प्रवुद्ध लेखकहरुले भोजकुमार घिमिरेको बारेमा लेखेका कार्यसंस्मरणका लेखहरु समेटिएका छन् । त्यसैगरी लेखक घिमिरे स्वयंले लेखेको आत्मकथा, कृति सम्पादक पत्रकार पंकज दाहालले लेखेको घिमिरेको जीवनी, लेखक घिमिरेले लेखेको अमेरिका भ्रमणबारे यात्रा संस्मरण र साहित्य कला संङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मूकदर्शकले लेखेको भूमिका कृतिमा रहेका छन् । एक वर्षको समय लगाएर तयार गरिएको सो कृतिको सम्पादकमा पत्रकार पंकज दाहाल र भाषा सम्पादकमा उपप्राध्यापक गोविन्दप्रसाद पौडेल रहेका छन् । २८८ पृष्ठको सो कृतिमा लेखक घिमिरेले समाजसेवा र राजनीति गर्दा उत्तरार्धमा पाएका सम्मान तथा प्रशंसा पत्र र विभिन्न कालखण्डका स्मृतिजन्य रङ्गीन तस्वीरहरु देख्न पाइन्छ ।
लेखक घिमिरेले २० वर्षको युवा उमेरदेखि १९ वर्षसम्म विभिन्न सामुदायिक विद्यालयमा शिक्षक भएर काम गरे भने पञ्चायतकालको उत्तरार्धमा ५ वर्ष लखनपुर गाउँपञ्चायतको प्रधानपञ्च, २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएपछि १० वर्ष अर्थात् दुई कार्यकाल लखनपुर गाउँ विकास समितिको अध्यक्ष गरी जम्मा १५ वर्ष लखनपुरको अभिभावक भएर काम गरेको इतिहास छ । उनी लखनपुर सामुदायिक खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको संस्थापक अध्यक्ष पनि हुन् । उनै घिमिरे यही साउन १९ गते मंगलबारदेखि ८३ वर्ष पुगेको अवसरमा सोही अनुसार कार्यक्रममा जन्मदिवस पनि मनाइएको छ ।

‘भोजकुमार घिमिरे अब भने अमर भएका छन्, कृति मार्फत् । साहित्य लेखन र कृतिले मानिसलाई अमर बनाउँछ, त्यो जुग जुग सम्म रहन्छ । शरीर त मृत्यु भएका दिन सकिन्छ । अमर रहने र गराउने भनेको साहित्य नै हो, त्यसैले यो कृति तयार गरेर उहाँ (घिमिरे) ले आफूलाई अमर बनाउनुभएको छ ।’ प्रमुख अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै प्रा. डा गोविन्दराज भट्टराईले भने । डा. भट्टराईले कुनै बेला भोजकुमार घिमिरे सँग दमकको बेलडाँगीमा एउटै सामुदायिक विद्यालयमा शिक्षक भएर काम गरेको स्मरण गर्दै अहिले आएर जमानाका सहकर्मी मित्रको कृति लोकार्पण गर्ने साइत जुर्नु पनि सुखद संयोग र खुशीको कुरा भएको धारणा राखे । कृतिकार घिमिरेले पनि सहभागीहरुलाई स्वागत गर्दै पुराना मित्र तथा नेपाली/अंग्रेजी भाषा साहित्यका अन्तर्राष्ट्रिय स्तरका मूर्धन्य विद्वानबाट आफ्नो कृति लोकार्पण गराउन पाएकोमा हर्ष लागेको र त्यसका लागि डा. भट्टराईप्रति आभार प्रकट गरे ।
पिस मिडिया एण्ड पब्लिकेशन कमल झापा प्रकाशक रहेको सो कृति लोकार्पण कार्यक्रममा सुनसरी इटहरीका साहित्यसेवी लेखनाथ घिमिरे, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपालप्रसाद भण्डारी र राजनीतिकर्मी दमक नगरपालिकाका पूर्व नगर प्रमुख रोमनाथ ओलीले भोजकुमार घिमिरे एक कुशल इमान्दार, निष्ठावान, निष्कलंक छवि भएको आदर्श राजनीतिकर्मी र समाजसेवी रहेको चर्चा गर्दै समाजमा यस्ता व्यक्तिहरुलाई सदा कालसम्म चिनाउन र नयाँ पुस्तामा स्मरण गराइराख्न कृति महत्वपूर्ण माध्यम र सम्पत्ति बन्ने प्रष्ट पारे । कार्यक्रममा कृतिको परिचय भाषा सम्पादक उपप्राध्यापक गोविन्दप्रसाद पौडेल र कृतिको समीक्षा दमक प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष साहित्यकार डा. व्यन्जना शर्माले गरेका थिए ।
दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा दमक–५ स्थित दीपिनी आधारभूत विद्यालयको सभाहलमा भएको कार्यक्रममा स्वागत मन्तव्य कृति नायक भोजकुमार घिमिरे र कार्यक्रम सञ्चालन कृति सम्पादक तथा पत्रकार पंकज दाहालले गरेका थिए । दमक र आसपासका साहित्यकार, पत्रकार, शिक्षक, प्राध्यापक र अन्य सामाजिक लब्धप्रतिष्ठित व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको कार्यक्रममा हास्यरसका ज्येष्ठ कवि तथा गायक वेणु चुडालले भोजकुमार घिमिरेको जन्मदिन र लोकार्पित कृतिको बारेमा गीत तयार गरी गाएर सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सांसद अर्जुन राईको पनि विशेष आतिथ्यता रहेको थियो । कृतिमा कृतिकारको भूमिगत कालको राजनीति, जेल जीवन, प्रधानपञ्च हुँदाको अवस्था, बाल्यकाल, भारतमा डुल्दाको जीवन, लखनपुर खानेपानी र विकास निर्माणका कार्यमा जग बसाउँदा गरेको दुःख र समग्र जीवनका दुःख, सुख, संघर्ष र उतारचढावहरुको तस्वीर उतारिएको छ । पहाडी जिल्ला पाँचथरको कुरुम्वामा जन्मिएका कृतिकार घिमिरे लामो समयदेखि झापाको कमल गाउँपालिका वडा नं. ५ को गुहेश्वरीमा बसोबास गर्दै आएका छन् ।