Jestha Aawaj | ज्येष्ठ आवाज

गुरुपूर्णिमामा दमकका निवृत्त राष्ट्रसेवकको पुनर्मिलन कार्यक्रम

दमक/ झापाको दमकका निवृत्त राष्ट्रसेवकहरुले गुरुपूर्णिमाको दिन एकै ठाउँ भेला भएर पुनर्मिलन कार्यक्रम गरेको छन् । निवृत्त राष्ट्रसेवक समाज दमक नगर समितिको आयोजनामा दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा बुधबार यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा दमक क्षेत्रभित्र रहेका विभिन्न सेवाबाट अवकाशप्राप्त निवृत्त करिव डेढ सय राष्ट्रसेवकहरु सहभागी थिए । जसमा पूर्व शिक्षक, निजामति कर्मचारी, सुरक्षाकर्मी सेना तथा प्रहरी, बंैंकिङ सेवा तथा लामो समय सम्म अन्य राष्ट्रसेवा गरेका निवृत्त व्यक्तिहरु रहेका छन् । खासगरेर एकआपसमा परिचय, अन्तरक्रिया, अन्तरघुलन र संगठन विस्तारका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको निवृत्त राष्ट्रसेवक समाज दमक नगर समितिका अध्यक्ष अम्बिका प्रसाद सापकोटाले जानकारी गराए ।


कार्यक्रममा सहभागीहरुबीच विभिन्न प्रतिभाहरुले कविता वाचन, भजन, गीत, नृत्य लगायतका कलाहरु प्रस्तुत गरेका थिए । निवृत्त राष्टसेवकहरु मध्ये ज्येष्ठ सदस्य एकराज तिम्सिनाको प्रमुख आतिथ्यता र निवृत्त समाज दमकका अध्यक्ष अम्बिका प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा निवृत्त समाज दमकका कार्य समिति सदस्य ओमप्रसाद खनालले स्वागत मन्तव्यबाट उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । कार्यक्राममा निवृत्त राष्ट्रसेवक समाजका केन्द्रीय सदस्य मोहन कार्की, झापा जिल्ला सचिव नेत्र अधिकारी, जिल्ला सदस्य जय संग्रौला, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा रुद्र कार्की, लिलानाथ खनाल, बेनु चुडाल,जीवन श्रेष्ठ, सारदा खनाल उपाध्याय, दुर्गा खनाल काफ्ले, तिलरुपा भट्टराई लगायतले शुभकामना तथा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । निवृत्त राष्ट्रसेवक समाज दमकका सह–सचिव रुद्रप्रसाद खरेलले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण राष्ट्र सेवकहरुलाई रुद्राक्षको माला र टिका लगाएर सम्मान गरिएको थियो । कार्यक्रमको समापनमा चियापान गरिएको थियो ।

Exit mobile version