दमक/ झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको प्राङ्गणमा बुधबार नगरसभाको १९ औं अधिवेशनमा सार्वजनिक गरिएको बजेट एक अर्व ५८ करोड ६९ लाख बराबरको रहेको छ । प्रस्तावित बजेट सकेसम्म यथार्थपरक र जनमुखी बनाउने प्रयास गरिएको नगर सभाका सभाध्यक्ष नगर प्रमुख राम कुमार थापाले बताएका छन् ।
जसअनुसार चालू खर्च तर्फ ८५ करोड ८१ लाख ५९ हजार र पुँजीगत खर्च तर्फ ६८ करोड २२ लाख ४१ हजार तथा वित्तीय व्यवस्था तर्फ चार करोड ६५ लाख विनियोजन गरिएको छ । नगरसभामा बजेट तर्जुमा समिति संयोजक तथा नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुतिअनुसार खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक आयबाट ४४ करोड ३८ लाख ५५ हजार, संघीय सरकारको अनुदानबाट ५८ करोड ९६ लाख र प्रदेश सरकारको अनुदान चार करोड ३४ लाख १७ हजार रहेको जानकारी गराइएको छ । जनसहभागिताबाट एक करोड रकम व्यहोर्ने प्रस्ताव गरिएको छ ।

नीति तथा कार्यक्रम
दमक नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेको छ । सूचना प्रविधि तर्फ डिजिटल सेवा, राजस्व तर्फ कर असुलीमा सेवाग्राहीमैत्री सेवा, शिक्षामा सुलभ र गुणस्तरीय शिक्षा, सामुदायिक शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिमा जोड, स्वास्थ्य तर्फ आधारभूत स्वास्थ्य केन्द्रहरुको सबलीकरण, दमक अस्पतालको स्तरोन्नति र फराकिलो स्वास्थ्य सेवा, भौतिक पूर्वाधारहरुको विकास, दमक सपिङ्ग कम्प्लेक्सको निर्माण सम्पन्न भइ संचालनमा ल्याउने कार्य र लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिइएको छ ।
नीति तथा कार्यक्रममा विगतका अधुरा तथा अपूरा आयोजनाहरु सम्पन्न गर्ने, नगर गौरव र वडा गौरवका आयोजनालाई प्राथमिकताका साथ पूरा गर्ने, गरिबी न्यूनीकरण गर्ने, पिछडिएका र विपन्न नागरिकको उत्थान हुने योजना र कार्यक्रममा जोड दिने, उद्यमशिलता प्रवद्र्धन गर्ने, रैथाने ज्ञान र सीप साथै परम्परागत सीप, कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने लगायतका नीति आगामी आर्थिक वर्षका लागि दमक नगरपालिकाले अघि सारेको छ ।
नगरसभाको पहिलो बैठकमा विभिन्न विषयगत समितिका संयोजक तथा प्रतिनिधिहरुले चालू आर्थिक वर्षमा सम्पन्न गरेको कार्यहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए । नगरसभामा प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार निरौलाको विशेष आतिथ्यता रहेको थियो ।