दमक/ झापाको दमकमा मेलमिलापकर्ता, टोल विकास संस्थाका पदाधिकारी र छानिएका स्थानीय व्यक्तिहरुलाई आधारभूत कानुनी सचेतना दिन अभियाननै संचालन गरिएको छ । दमक नगरपालिकाको न्यायिक समितिले स्थानीय सवालमा विद्यमान रहेका कानुनको आधारभूत ज्ञान, सरकारको दायित्व र नागरिकको कर्तव्यका बारेमा जानकार गराउने उद्देश्यले यस्तो सचेतना अभियान शुरु गरेको हो । सचेतनामा न्यायिक समितिका काम, कर्तव्य र अधिकार, सामाजिक न्याय, लैङ्गिक हिंसा लगायतका कानुनी पक्षका बारेमा सहभागीहरुलाई जानकारी गराइँदैछ ।
बिहीबारदेखि वडा नं. १० बाट शुरु गरिएको यो अभियान अन्तर्गत नगरपालिकाका सबै वडाहरुमा कानुनी सचेतना कार्यक्रम आयोजना गरिने कानुन शाखा प्रमुख सरिता कटुवालले जानकारी गराइन् । उनका अनुसार यही असार महिना भित्रमा यस्तो सचेतना कार्यक्रम सबै वडामा सम्पन्न गरिसक्ने योजना रहेको छ ।

सचेतना कार्यक्रममा आधारभूत कानुनी ज्ञान र उठेका सवालहरु बारे द एशिया फाउण्डेशनका कोशी प्रदेश संयोजक श्याम सापकोटा र कानुन शाखाका विज्ञ नविन खतिवडाले सहजीकरण गरिरहेका छन् । उनीहरुले स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा मेलमिलापकर्ताको भूमिकाका विषयमा पनि प्रष्ट पार्ने बताइएको छ । वडा नं. १० को कार्यक्रममा प्रमुख अतिथिका रुपमा दमक नगरपालिका उप–प्रमुख तथा न्यायिक समिति संयोजक रेगिना भट्टराई प्रसाईले स्थानीय नगरवासीहरुमा आइपर्ने विभिन्न समस्या र झमेलाहरुको सहज समाधानमा सघाउ पुगोस् भनेर यस्तो सचेतना कार्यक्रम संचालन गरिएको र यसबाट सहभागीहरुले लाभ लिन सक्नुपर्ने बताइन् ।
दमक–१० की वडा सदस्य तथा वडा मेलमिलाप संयोजक भूमिका आचार्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, नगरपालिका न्यायिक समितिका सदस्यहरु शोभा खतिवडा बेलबासे र कमल कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो । सचेतना कार्यक्रम क्रमशः सबै वडाहरुमा गरिने भएको छ । सबै नेपाली नागरिकमा कानुनका बारेमा आधारभूत ज्ञान र साक्षरता हुनुपर्छ भन्ने हेतुले पनि यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको दमक नगरपालिकाले जनाएको छ ।