Jestha Aawaj | ज्येष्ठ आवाज

भव्य कार्यक्रमसँगै नौ स्रष्टालाई साहित्य कला संगमको पुरस्कार तथा सम्मान

दमक/ साहित्य कला संगम दमकले साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नौ जना स्रष्टालाई सम्मानित एवं पुरस्कृत गरेको छ । शनिबार स्थानीय केबीआर होटलमा एक भव्य कार्यक्रमको आयोजना गरि भाषा, साहित्य, कला संस्कृति, गीतसंगीत तथा खेलकुद क्षेत्रका ति स्रष्टाहरुलाई नगद, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट सुनसरीको धरानका पं्रा.डा. भीम खतिवडा, साहित्य कलाश्री पुरस्कारबाट झापाको दमकका प्रा.डा. गोपाल भण्डारी, भवानी मिश्र अन्तर्राष्ट्रिय पुरस्कारबाट भारतको असम लङ्काका वरिष्ठ साहित्यकारहरु मोहन सुवेदी, बैतडीका वासुदेव पाण्डेय ‘प्रभाकर’ र मोरङको विराटनगरका खेम नेपाली तथा झापाको विर्तामोडका आख्यानकार राजेन्द्र संग्रौला र शिवसताक्षीका उपन्यासकार वीरेन्द्र थोक्लीहाङ रहेका छन् । उनीहरुलाई जनही ३५ हजार नगद, सम्मान पत्र र स्मृति चिन्हले पुरस्कृत तथा सम्मानित गरिएको छ ।


त्यसैगरी रुद्र निरौला स्मृति पुरस्कारबाट पुरस्कृत हुनेमा झापाको दमकका साहित्यकार मेघराज तिम्सिना र चन्द्रवीर खड्का स्मृति पुरस्कारबाट विर्तामोडकी नारी स्रष्टा मिना अधिकारी रहेका छन् । तिम्सिनालाई नगद १५ हजार र अधिकारीलाई नगद ११ हजारसहितले पुरस्कृत गरिएको हो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गंगाप्रसाद अधिकारी, विशिष्ट अतिथि मुनाराज शेर्मा र प्राज्ञ सुमित्रा वाङ्देल चेली तथा साहित्य कला संगमका अध्यक्ष विन्दु दाहाल मूकदर्शक लगायतले सम्मान गरेका हुन् । सम्मानित भएपछि पं्रा.डा भीम खतिवडा, स्रष्टाहरु मिना अधिकारी, खेम नेपाली, वासुदेव पाण्डेले प्राप्त पुरस्कारले आफूहरुलाई साहित्यको क्षेत्रमा अझै जिम्मेवार र सशक्त भएर लागिरहन प्रेरणा मिलेको प्रतिक्रिया दिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अधिकारीले साहित्य कला संगमले दमकमा रहेर पूर्व क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनीय रहेको भन्दै भारतको पूर्वोत्तर क्षेत्रलाई समेत जोडेर साहित्य गतिविधि गर्नुले सर्जकहरुमा हौसला र उत्साह थपेको बताए । दमकमा भइरहेको साहित्यिक गतिविधि र चर्चा परिचर्चाले राष्ट्रिय र अन्तर्राष्ट्रिय आयाम पाएको उनको भनाई थियो । साहित्य चौतारी विर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ, कोशी साहित्य समाजका अध्यक्ष केशु विरही र उर्जाशील साहित्य प्रतिष्ठान चारपानेका अध्यक्ष डि.पी अर्यालले पनि शुभकामना मन्तव्य राखे । आयोजक संस्थाको तर्फबाट संगमका पूर्वअध्यक्ष नरपति पाण्डेले बोलेका थिए । कार्यक्रमको बीच बीचमा विभिन्न साहित्यकर्मीहरुले आफ्‌ना रचनाहरु वाचन गरेका थिए भने संगमकी उपाध्यक्ष चन्द्रा गड्तौलाको टिमले विभिन्न गीतहरु प्रस्तुत गरेको थियो ।


संगमका अध्यक्ष दाहालको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यादव अधिकारी झाक्रिखोले र कार्यक्रम संचालन संगमका सचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा कोशी प्रदेशभरि अनि भारतको पूर्वोत्तर क्षेत्रका साहित्य सर्जकहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संगमको वार्षिक मुखपत्र समेत लोकार्पण गरिएको थियो ।

Exit mobile version