दमक/ मातातीर्थ औंसीको अवसरमा झापाको दमक–८ का १० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक –८ वडा शाखा समितिले स्थानीय ज्येष्ठ आमाहरुलाई नगदसहित दोसल्ला र सम्म्मान पत्रले सम्मान गरेको हो । शाखा समितिको कार्यालय हातामा एक औपचारिक कार्यक्रमको आयोजना गरी यस्तो सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा ज्येष्ठ आमाहरु तिलरुपा शिवाकोटी, मनमाया आचार्य, देवीमाया तामाङ, हिमादेवी सिटौला, चन्द्रकला खतिवडा, श्यामकुमारी खड्का, नरमाया घिमिरे, नरमाया दंगाल, उमादेवी पराजुली र कमलादेवी भण्डारी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको केन्द्रीय कार्यसमिति अध्यक्ष दुर्गाप्रसाद पौडेल, दमक–८ की वडा सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि हरिमाया चुडाल, प्रतिष्ठानकी सल्लाहकार सह–संयोजक डोयनादेवी दाहाल, शाखा समिति अध्यक्ष ओमप्रसाद खनालले सम्मान प्रदान गरे ।

सम्मानित भएपछि आफूहरुलाई सम्झेकोमा खुशी लागेको भन्दै आयोजकलाई उनीहरुले धन्यवाद दिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि चुडालले दमक नगरपालिका र वडा कार्यालयहरुले ज्येष्ठ नागरिकको सम्मान र हित संरक्षणका लागि सकेको सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताइन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पौडेलले आफूहरुले वार्षिक कार्यक्रम र योजना बनाएरनै ज्येष्ठ नागरिकहरुको हक, हित र अधिकारको लागि काम गरिरहेको प्रष्ट पारे ।
कार्यक्रममा अर्का वडा सदस्य खेमबहादुर श्रेष्ठ र पशुपति संस्कृत मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम दंगाल पनि शुभकामना मन्तव्य राखेका थिए । सारदाप्रसाद उपाध्याय खनालले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठान शाखा समिति अध्यक्ष ओमप्रसाद खनाल र कार्यक्रम संचालन सचिव तारानाथ भट्टराईले गरेका थिए । प्रतिष्ठानले प्रत्येक वर्ष मातातीर्थ औंसीका दिन ज्येष्ठ आमाहरुलाई सम्मान गर्दै आएको छ ।