दमक/ शैक्षिक व्यक्तित्व जयबहादुर श्रेष्ठको साहित्यिक कृति ‘के दिऊँ तिमीलाई ?’ शनिबार एक कार्यक्रमका बिच विमोचन गरिएको छ । मदन पुरस्कार विजेता साहित्यकार तथा समालोचक प्राध्यापक डाक्टर दयाराम श्रेष्ठले सो कृतिको विमोचन गरेका हुन् । विमोचनमा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गोपाल भण्डारी, साहित्यकार चन्द्र भण्डारी, शिव रेग्मी प्रणत, दमक नगरपालिका शिक्षा समिति अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराई, कृतिकार श्रेष्ठ र निजकी श्रीमती शलुजा श्रेष्ठ लगायत दमकका साहित्यकार तथा सामाजिक व्यक्तित्वहरुले साथ दिएका थिए ।
विमोचित कृतिमा ५२ वटा कविता र १८ वटा गीत समेटिएको छ । खासगरी यसलाई कविता संग्रहको रुपमा लिइएको छ । आफूले ५८ वर्ष अगाडि कक्षा ७ मा भोजपुरको एक विद्यालयमा पढाएको शिष्यले कविता कृति सिर्जना गरेर प्रकाशन गरेकोमा खुशी लागेको कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले बताए । उनले आफूले पढाउँदा भविष्यमा कवि बन्ने कुनै आभास नपाएको तर समयकालमा कवि व्यक्तित्वका रुपमा निस्किएको कुरालाई ‘वृक्षमा फल फल्न समय लाग्छ’ भन्ने हिसाबमा मूल्यांकन गरेको विचार व्यक्त गरे ।
कृति विमोचन कार्यक्रममा बोल्दै साहित्यकार चन्द्र भण्डारीले कवि श्रेष्ठ आफ्नो कीर्तिपुरमा स्नातकोत्तर पढ्दाको अनन्य मित्र भएको र उनी कविका हिसाबमा एक देशभक्त भएको धारणा राखे । कृतिमाथि समीक्षा गर्दै साहित्यकार शिव रेग्मी प्रणतले लामो समय सम्मका सिर्जनालाई समेटेर कविता संग्रह निकाल्नुनै ठूलो कुरा भएको बताए । कृति उत्कृष्ट र समाजका विविध पक्ष समेटिएको बहुआयामिक भएको उनको भनाई थियो ।

कृतिकारकी श्रीमती शलुजा श्रेष्ठ प्रकाशक र कार्यक्रमको अध्यक्ष रहेको कार्यक्रममा स्वागत मन्तव्य कृतिकारका छोरा तथा झापा मोडल अंग्रेजी मा.वि.का प्रिन्सिपल सागर श्रेष्ठले गरेका थिए । सहभागी विद्यार्थीहरु अभिमन्यू चापागाई र प्रज्वल पाठकले विमोचित कृतिमा रहेका २ वटा कविता वाचन गरेर सुनाएका थिए । झापा मोडलको विद्यार्थीहरुले स्वागत गान पनि गाएका थिए । कृतिकार श्रेष्ठले आफूले धेरै अघि देखि लेखेका कविताहरुलाई संग्रह गरेर प्रकाशनमा ल्याएको प्रष्ट पारे । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई कृतिकार र कृतिकार श्रेष्ठलाई झापा मोडलका शिक्षक शिक्षिकाहरुले सम्मान गरेका थिए । कृतिकार श्रेष्ठ दमक–८ स्थित झापा मोडल अंग्रेजी मा. वि.का संस्थापक निर्देशक हुन् । कार्यक्रमको संचालन कवि धनकुटे कान्छाले गरेका थिए । कृतिकार श्रेष्ठ दमक प्रज्ञा प्रतिष्ठानका सचिव हुन् ।