कमल/ नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल–५ मंगलबारे स्थित कार्यालय हातामा रेडक्रसका अन्तर्राष्ट्रिय संस्थापक जा हेनरी ड्यूनाको अर्धकदको प्रतिमा अनावरण गराएको छ । विभिन्न दाताहरुको सहयोगमा निर्माण गरी सो प्रतिमा अनावरण गरिएको हो । सालिकको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई र रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले संयुक्त रुपमा अनवारण गरे ।
शनिबार एक कार्यक्रमको आयोजना गरी सो प्रतिमा अनावरण गरिएको हो । रेडक्रस सोसाईटी कमलका सभापति चन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले रेडक्रस कमलले गर्ने मानवीय र सामाजिक सेवा भावका कार्यक्रममा गाउँपालिकाले सकेको सहयोग गर्ने बताए । रेडक्रसको कार्य उत्कृष्ट रहेको उनको भनाई थियो ।
विशिष्ट अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले रेडक्रस कमलले स्थापनाको छोटो अवधिमै प्रगतिको उल्लेख्य फड्को मारेको बताए । सो अवसरमा रेडक्रसले प्रतिमा निर्माणमा सहयोग पुर्याउने दाता कमल–६ का विवेक मिश्रसहितका दाताहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । अमेरिका बस्दैआएका युवा व्यक्तित्व मिश्रले प्रतिमा निर्माणमा ५० हजार ५ रुपैयाँ सहयोग उपलव्ध गराएका थिए ।

त्यसैगरी, स्थानीय सुम्निमा कृषि सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० हजारको चेक रेडक्रस कमललाई हस्तान्तरण गरेको छ । सहकारी संस्थाका उपाध्यक्ष पदम उप्रेतीले रेडक्रस कमललाई सो चेक प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष राई, नेपाल रेडक्रस सोसाईटी झापा जिल्ला शाखाका अध्यक्ष लोकराज ढकाल, रेडक्रस बुद्धशान्तिका सचिव टेकप्रसाद निरौला लगायतले बोलेका थिए ।
संस्थाकी उपसभापति नरमाया तामाङले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपमन्त्री प्रकाशचन्द्र खरेल, रेडक्रस शिवसताक्षीका सभापति गोविन्द काफ्ले, आम्दा अस्पतालका पूर्व मेसु डा. नविन ढकाल, सामाजिक अगुवाहरु दिलीप वान्तवा, ललित वान्तवा, कमल ५ की वडा सदस्य चन्द्रकला सुब्बा लगायतको उपस्थिति रहेको थियो ।