दमक/ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि शुरु भएको छ । स्थानीय पालिकाहरुको आयोजना र विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्य र समन्वयमा देशैभर यो अभियानको थालनी गरिएको हो । यो कार्यक्रम विश्वभरिनै विभिन्न सचेतनामूलक लगायतका कार्यक्रम गरी प्रत्येक वर्षको नोभेम्वर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ ।
यसैक्रममा झापाको दमक र कमल गाउँपालिकामा पनि यो अभियान शुरु भएको छ । दमकमो सोमबार बिहान प्रभातफेरीका साथै नगरपालिका प्राङ्गणमा सभा गरिएको छ । सभामा दमक नगर प्रमुख राम कुमार थापाले महिलामाथि हुने हिंसाको अन्त्यका लागि हरेक परिवार सचेत र सकारात्मक मानवीय व्यवहार हुनेपर्ने बताए । नगर प्रमुख थापाले सरोकारवाला सबैको साझा प्रयासबाट मात्र लैङ्गिक हिंसा अन्त्य हुने वातावरण बन्ने धारणा राख्दै त्यसका लागि सचेत महिला र पुरुष समेत एकजुट हुनुपर्ने धारणा राखे ।

दमक नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले लैङ्गिक हिंसा अन्त्य सबै मासिको आम चासो र सरोकारको विषय हुनुपर्ने बताइन् । उनले यसका लागि दमक नगरपालिकाले सकेको पहल र कार्य गर्ने प्रष्ट पारिन् । नगरपालिकाको सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य शारदा सापकोटा भट्टराईले कार्यक्रमको अध्यक्षता गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि शिक्षा, सचेतना र सामूहिक पहलको ठूलो महत्व हुने विचार व्यक्त गरिन् । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार निरौला, शिक्षा समिति संयोजक कुवेर प्रसाद भट्टराई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी किशोर लम्साल र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले गरेकी थिइन् ।
सभाअघि जनप्रतिनिधि, महिला अधिकारकर्मी, विद्यार्थीहरु, सुरक्षाकर्मी लगायतको टोलीले दमक नगरका विभिन्न भाग परिक्रमा गरी नारा सहितका प्लेकार्ड बोकेर प्रभातफेरी गरेको थियो । यसपटकको अभियानको नारा भने ‘प्रविधिको सहि प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने रहेको छ । अभियान अन्तर्गत १६ दिन सम्म विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्य र समन्वयमा विभिन्न कार्यक्रम तथा गतिविधिहरु गरिने जानकारी गराइएको छ । कमल गाउँपालिकामा भने लेैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारीमा आएको छ ।
: