दमक/ पतञ्जली योग दमक नगर समितिले भारतको हरिद्वारबाट मुख्य योग शिक्षकको तालिम सकेर फर्किएका मुख्य योग गुरुहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
दमक–६ स्थित पशुपति साधना केन्द्रको सहकार्यमा भएको सो कार्यक्रममा योग गुरुहरु धनपति ओडारी,ओमप्रसाद खनाल,उमेश घिमिरे,कुमार खनाल, लक्ष्मीप्रसाद श्रेष्ठ, पुण्यप्रसाद खनाल,रञ्जित बस्नेत र भोला ओझालाई सम्मान प्रदान गरिएको हो ।
पतञ्जली योग पिठ हरिद्वारमा गत कार्तिक २१ देखि २७ सम्म मुख्य योग शिक्षकहरुको प्रशिक्षण तालिम भएको थियो । तालिममा दमकबाट आठ जना योग शिक्षकहरु सहभागी भएका थिए ।
उनीहरुलाई पयोस जिल्ला समिति झापाका उपाध्यक्ष शुशिल निरौला, दमक नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारीले अविर टीका,खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा पयोस दमक नगर उपाध्यक्ष किरण उप्रेती,पयोस जिल्ला सदस्य घनश्याम प्याकुरेल, जिल्ला सल्लाहकार हरि पाठक,सम्मानित गुरु उमेश घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पशुपति साधना केन्द्रका संयोजक बिक्रम साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पयोस नगर कोषाध्यक्ष नन्द कुमार राईले गरेका थिए भने योग गुरु ओमप्रसाद खनालबाट शान्तिपाठ गरेर कार्यक्रमलाई समापन गरिएको थियो ।

