Jestha Aawaj | ज्येष्ठ आवाज

ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न

दमक/झापाको दमक–६ स्थित ॐ सतासी वचत तथा ऋण सहकारी संस्थाले आफ्‌नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्ष राजेन्द्र दंगालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक यज्ञ प्रसाद सुवेदीले प्रस्तुत गरेको लेखा प्रतिवेदन बन्द सत्रमा आवश्यक छलफल गरी पारित समेत गरेको छ ।
शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभामा शेयर सदस्यहरुलाई वितरित प्रतिवेदन अनुसार संस्थाको आ.व. २०८१/०८२ मा शेयर रकम १ करोड ३९ लाख ७५ हजार ३६९, वचत ८ करोड ७० लाख ८८ हजार ५०३ र कर्जा लगानी ८ करोड ३८ लाख ८७ हजार ९४७ रुपैयाँ रहेको छ । अध्यक्षको प्रतिवेदनमा शेयर सदस्यहरुलाई वचत र ऋण कारोबारको सेवाका साथै बिमा, राहत, मृत्यु राहत जस्ता सुविधाहरु पनि प्रदान गरिएको उल्लेख गरिएको छ । त्यस्तै सामाजिक क्रियाकलापमा अभिमुखीकरण, वनभोज, सदस्य शिक्षा, बडादशैंमा पूजा, अवलोकन भ्रमण, क्षमता विकास तालिम, उद्घोषण तालिम र महिला उद्यमी तालिम लगायतका कार्यक्रम संचालन गर्ने गरिएको जानकारी दिइयो । अध्यक्ष दंगालको अध्यक्षता र ज्येष्ठ सदस्य टेकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा माध्यमिक तहको कक्षा १२ मा उत्कृष्ट जिपीए ल्याउने शेयर सदस्यका छोरा छोरी मध्ये प्रिती बस्नेत र रेशुदा भट्टराईलाई ॐ सतासी छात्रवृत्ति पुरस्कार स्वरुप नगद ३ हजार सहित प्रशंसा पत्रले सम्मानित एवं पुरस्कृत गरिएको थियो ।


त्यसैगरी संस्थामा रहेर उत्कृष्ट सेवा कार्य गरेको भन्दै कार्यालय सहायक तथा कर्जा प्रमुख बसन्ता देवी चेम्जोङलाई नगद ५ हजार सहित प्रशंसा पत्रले सम्मानित एवं पुरस्कृत गरियो । त्यस अवसरमा अध्यक्ष दंगालले संस्थाले सकेसम्म आफ्‌ना शेयर सदस्यहरुलाई सेवा सुविधा पुग्नेगरी संस्था र उनीहरुको हितमा काम गरिरहेको बताए । कार्यक्रममा सल्लाहकार सदस्य दुर्गा प्रसाद उप्रेती र निवर्तमान अध्यक्ष देउकुमार लिम्बूकी धर्मपत्नी बेनु लिम्बूको विशेष आतिथ्यता रहेको थियो । सरकारले हालसालै जारी गरेको निर्देशन अनुसार साधारण सभामा बाहिरका संस्थाबाट अतिथि बोलाउने र भाषण गराउन नहुने नयाँ नीति पालना गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संचालक सदस्य फूलमाया नेम्वाङ र कार्यक्रम संचालन उपाध्यक्ष टेकबहादुर चेम्जोङ र व्यवस्थापक हेमकुमारी दंगालले आलोपालो गरी गरेका थिए ।

Exit mobile version