दमक/ झापाको दमक नगरपालिका वडा नं. ५ को बानेश्वर टोलमा ज्येष्ठ नागरिकहरुका लागि दिउँसोको समयमा भेला भई भलाकुसारी तथा मनोविमर्श गर्न ज्येष्ठ नागरिक मिलन चौतारो बनाइएको छ । सो चौतारोको मंगलबार अपरान्ह दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले रिवन काटनुका साथै विधिपूर्वक पूजा गरेर उद्घाटन गरे । उद्घाटनको कार्यमा नगर उप–प्रमुख रेगीना भट्टराई प्रसाई पनि सरिक भएकी थिइन् । सो ज्येष्ठ चौतारो दमक नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीय सामाजिक व्यक्तित्व कमल प्रसाद दाहालको सामान्य सहयोगमा बनाइएको जानकारी गराइएको छ ।
निर्माण सम्पन्न भएपछि औपचारिक रुपमा उद्घाटन गरिएको सो चौतारोले स्थानीय ज्येष्ठ नागरिकहरुलाई सहजता र उत्साह थप्नुका साथै दुःख सुखका कुराकानी साटासाट गर्ने थलोको काम गर्ने दमक नगर प्रमुख थापाले बताए । सामाजिक विकासका यस्ता कार्यहरुले नगरलाई सुन्दर पार्न र मानिसमा सकारात्मक भावको विकास गर्न मद्दत मिल्ने उनको भनाई थियो । नगर प्रमुख थापाले विकास निर्माण कार्य सँगसँगै देश र समाजलाई आफ्नो भएभरको उर्जाशील उमेर खर्चिएर योगदान गरेका ज्येष्ठ नागरिकको हित र कल्याणका लागि सेवा कार्य गर्न नगरपालिका अग्रसर रहेको बताए ।

त्यस अवसरमा नगर उप–प्रमुख भट्टराईले आफू व्यक्तिगत रुपमा र नगरपालिका ज्येष्ठ नागरिकहरुको हितमा सकारात्मक कामका लागि सदैव सहयोगी बन्ने प्रष्ट पारिन् । कार्यक्रममा दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराईले पनि मन्तव्य राखेका थिए । स्थानीय बानेश्वर टोल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कमल प्रसाद दाहाल र कार्यक्रम संचालन स्थानीय सामाजिक व्यक्तित्व नेत्र घिमिरेले गरेका थिए । कार्यक्रममा ९३ वर्षीय ईन्द्रबहादुर कार्की, ज्येष्ठ नागरिक हरिमाया गौतम र मधुसुदन घिमिरेलाई खादा ओढाएर सम्मान गरिएको थियो । अन्य अतिथिका रुपमा दमक–५ का वडा सदस्यहरु खड्ग बहादुर राई र शोभा खतिवडा बेलबासे, नगर कार्यपालिका सदस्य ख्याम कुमारी परियार, नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारी, सामाजिक व्यक्तित्व धनबहादुर भट्टराई लगायत रहेका थिए ।