Jestha Aawaj | ज्येष्ठ आवाज

अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यलाई सिलाइ, कुटी काट्ने र मकै रोप्ने मेशिन

दमक/ झापाको दमकमा अपाङ्गता भएका व्यक्ति लगायतलाई आय आर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान पश्चात् सीपसहित प्रविधि हस्तान्तरण गरिएको छ । दमक नगरपालिकाले विभिन्न वडाका अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यमध्येका ९ जनालाई ४५ दिनको सिलाइ कटाइ तालिम हालै प्रदान गरेको थियो । तालिम समापनपछि ति ९ जनालाई मंगलबार नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरी सहयोग स्वरुप जीवन निर्वाहको आधार तयार हुनेगरी १/१ थान सिलाइ मेशिन उपलब्ध गराइएको छ ।
उनीहरुलाई मागअनुसार निजकै रोजाइमा सीप प्रदान गरी प्रविधि समेत हस्तान्तरण गरिएको हो । सिलाइ मेशिनहरु कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिका प्रमुख राम कुमार थापा र विशिष्ट अतिथि नगर उप–प्रमुख रेगीना भट्टराई प्रसाईले हस्तान्तरण गरे । तालिमका प्रशिक्षार्थी उनीहरुलाई सिलाइ कटाइ सम्बन्धी सीप सिकेको तालिम प्रमाण पत्र साथै हौसलाका लागि नगद समेत दिइएको छ । प्रविधि हस्तान्तरणसँगै मन्तव्य राख्दै नगर प्रमुख थापाले दमक नगरपालिकाले फरक क्षमता भएका अर्थात् अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकताका साथ सहज जीवन यापनमा सघाउ पुग्नेगरी सीप प्रदान गर्ने, आय आर्जनका लागि प्रोत्साहित गर्ने र अन्य आवश्यक सहयोग गर्ने काम गरिरहेको बताए ।


उनले ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई त घर घरमै पुगेर निःशुल्क स्वास्थ्योपचारको सेवा सुविधा समेत दिइँदै आएको समेत स्मरण गराए । नगर उप–प्रमुख भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुको माग र रोजाइअनुसारको सेवा, सहयोग र सुविधा दिन पाउनु आफूहरुको लागि खुशीको कुरा हुने बताइन् । नगर प्रमुख थापा र उप–प्रमुख भट्टराई फरक क्षमता भएका व्यक्तिहरुको सुख दुःख र पीडामा सहयोग गरी सँधै साथ दिन आफूहरु तत्पर र प्रतिवद्ध रहेको प्रष्ट पारे । त्यस अवसरमा उनीहरुले थप ३ जनालाई कुटी काट्ने मेशिन र २ जनालाई मकै रोप्ने मेशिन समेत उपलब्ध गराएका थिए । मागअनुसार दिइएका यस्ता प्रविधिका सामग्रीबाट अपाङ्गता भएका व्यक्ति तथा निजका परिवारलाई पशुपालन तथा कृषि कर्ममा सहयोग पुग्ने आशा एवं विश्वास गरिएको बताइएको छ ।
दमकमा करुणा फाउण्डेशन र कोशी प्रदेश सरकारको सहकार्यमा नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम समेत संचालन गरिरहेको छ । सोही कार्यक्रमअन्तर्गत तालिम र प्रविधि प्रदान गरिएको हो । मंगलबारको कार्यक्रम दमक नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले संचालन गरेकी थिइन् भने अतिथिका रुपमा करुणा फाउण्डेशनको तर्फबाट दमक पालिका संयोजक रुविना थापा, मिलीजुली समूहका अध्यक्ष ओम बानियाँ र सिलाइ कटाइ तालिमका प्रशिक्षक बल बहादुर सिवा रहेका थिए ।

Exit mobile version