समाचार

व्यावसायिक सहजीकरण र मेलमिलाप बारे दमकका उद्योगी व्यवसायीहरुलाई प्रशिक्षण

दमक/ दमकका उद्योगी व्यवसायीहरुले कारोबारका सिलसिलामा देखापर्ने विवाद तथा सम्बन्धित मुद्दाहरुको प्रकृति, तिनको निरुपणको उपाय र मेलमिलापको सवालका बारेमा आधारभूत ज्ञान र कला सिकेका छन् । व्यवसाय गर्दा आइपर्ने अनेकन समस्या, प्रशासनिक तथा कानुनी झण्झट र तिनको व्यवस्थापनमा मेलमिलापको भूमिकाका बारेमा उनीहरुले बिहीबार दमक–२ स्थित दमक फन पार्कमा एक दिवसीय प्रशिक्षणमा सहभागी भएर सिकाई गरेका हुन् ।
त्यस क्रममा समस्या तथा विवादको उत्पत्तिको कारण, लेनदेनका कागजी स्वरुप, तिनको प्रकृया र प्रचलन, अदालती मुद्दा निरुपणको व्यवस्था, दण्ड सजाय र मेलमिलापको विविध पक्षका बारेमा सिकाई गरेपछि निकै लाभ मिलेको समेत उनीहरुले प्रशिक्षण समापनका क्रममा बताए । व्यावसायिक सहजीकरण र मेलमिलापको सवाल विषयक एक दिवसीय सो प्रशिक्षण कार्यक्रममा जिल्ला अदालत झापाका माननीय न्यायाधीश तेज बहादुर खड्काले उद्योग व्यवसाय सम्बन्धी न्यायालयमा आउने विभिन्न प्रकृतिका मुद्दाहरुका बारेमा जानकारी दिँदै तिनमा के कस्तो कानुनी निरुपण, दण्ड सजाय हुन्छ भन्ने बारेमा बुझिने ढंगले जानकारी गराएका थिए । न्यायाधीश खड्काले उद्योगी व्यवसायीहरुका खासगरी लेनदेनका मुद्दा, चेक बाउन्स, ऋण लगानी र असुली, घर बहाल सम्बन्धी विवाद नै मुख्य रुपमा रहेको भन्दै ति समस्याहरुबाट बच्न के कस्तो सजगता अपनाउन सकिन्छ भन्ने बारेमा पनि कानुनी व्यवस्थाका बारेमा प्रकाश पार्दै बताएका थिए ।


उनले विवाद निरुपणका सन्दर्भमा पालिकामा रहेको स्थानीय न्यायिक समितिको भूमिका, वडाध्यक्षले गर्ने लेनदेन सम्बन्धी कागजको प्रमाणिकरण र विद्यमान अवस्थामा देखापरेका समस्या र चुनौतीहरुका बारेमा उदाहरणसहित जानकारी गराएका थिए । सहभागी उद्योगी व्यवसायीहरुले पनि आफ्‌नो क्षेत्रमा देखापर्ने र भोगिरहेका समस्या र लेनदेन सम्बन्धी विवादहरुका बारेमा जिज्ञासा राख्दा उनीबाट उचित जानकारी र जवाफ पाएका थिए । दमक उद्योग वाणिज्य संघ दमक र होटल व्यवसायी संघ दमकको संयुक्त आयोजनामा भएको सो प्रशिक्षण कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति संगिता थापा र चेतन विष्टले क्रमशः मेलमिलापको सकारात्मक पक्ष र मेलमिलाप गर्दाको प्रकृयाका बारेमा चाखलाग्दो प्रस्तुति गरेका थिए ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले उद्योगी व्यवसायीहरुका समस्याका बारेमा आफूहरु पनि संवेदनशील रहेको र तिनलाई समाधान गर्न नगरपालिकाले सकारात्मक भूमिका खेल्ने बताए । मेयर थापाले नगरपालिकाले दमकका व्यवसायीहरुसँग असल काममा सहकार्य, सहयोग र समन्वय गर्दै आएको साथै आगामी दिनमा पनि त्यसमा निरन्तरता दिने प्रष्ट पारे । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल र कार्यक्रम संचालन महासचिव भूपेन्द्र प्रसाद न्यौपानेले गरेका थिए । समापनका क्रममा सहभागीका तर्फबाट ईश्वर नेपाल र कृष्ण अधिकारीले प्रशिक्षण समसामयिक र उपयोगी भएको बताएका थिए । कार्यक्रम दमक नगरपालिकाको सहकार्यमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *